राजनीति

साढेसातको ग्रहले छुँदैनः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई साढेसातको ग्रहले नछुने बताएका छन् । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी आयोजित गोष्ठी उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जन्म नै शनिबारका दिन भएकाले शनिग्रहले छुन नसक्ने उल्लेख गरे ।
ओली नेतृत्वको सरकार परिवर्तन गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा राष्ट्रिय सरकार बनाउने चर्चा चलिरहेकाबेला प्रधानमन्त्री ओलीले भने आफूलाई कुनै ग्रहदशाले छुन नसक्ने दाबी गरे ।
आफू शनिवार जन्मेकै कारण आफूले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने नगरेको बताए । उनले शनिसँग मान्छे देख्ने टेलिस्कोप नै भएको भन्दै ठट्टा गरे ।
प्रधानमन्त्री ओलीले आफूले देश विकासको कुरा गर्दा हावादारी कुरा गर्यो भनेर आलोचना हुने गरेको गुनासो पोखे । लगाउने जुत्ता, कपडा च्यातिएकाले लिपिस्टिक र पाउडर लगाएर नहुने भन्दै उनले पहिले फाटेको टाल्नुपर्ने उल्लेख गरे । तर आफूले छिटो छिटो विकास गर्नुप¥यो भन्दा हावादारी कुरा ग¥यो भनेर आलोचना गर्ने गरेको प्रधानमन्त्रीको गुनासो थियो ।
उनले अन्तरिक्षमा नेपालले आफ्नै स्थान (स्पेस) लिनुपर्ने बताए । यसले दूरसञ्चारले सहयोग पु¥याउने चर्चा गर्दै खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न सरकार प्रतिबद्ध रहेको उनले सुनाए । प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको समेत बताए ।
कार्यक्रममा बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा.सनतकुमार शर्माले सरकारले एक अर्ब लगानी गरेमा आफूहरुले चन्द्रमामा रकेट पु¥याउन सक्ने भन्दै प्रधानमन्त्रीको सपना साकार पार्ने बताएका थिए ।