खेलकुद

पेरुसँग पराजित भएपछि ब्राजिल बाहिरियो

एजेन्सी ।  ब्राजिल कोपा अमेरिका फुटबलको समूह चरणबाटै बाहिरिएको छ । सोमबार विहान भएको समूह चरणको  अन्तिम खेलमा पेरुसँग १–० ले पराजित भएसँगै ब्राजिल बाहिरिएको हो । खेलमा बराबरीसम्म गर्न सकेको भए ब्राजिल समूह सीको विजेता बन्दै अन्तिम ८ मा पुग्ने थियो । पेरुसलाई महत्वपूर्ण जित दिलाउन ७५ औं मिनेटमा राउल रुइडिएजले निर्णायक गोल गरे । यो गोल भएनभएको विवाद भएको थियो, तर रिप्लेमा गोल भएको पुष्टी भयो । रेफ्रीलाई गोलको निर्णय दिन पाँच मिनेट लागेको थियो ।

रेफ्री आन्द्रेस कुन्हाले लाइनम्यानसँगको छलफलपछि गोल भएको निर्णय गरेका थिए । ब्राजिलले बलमा बढी नियन्त्रण बनाएर गोल गर्ने धेरै राम्रा अवसर सृजना गरेपछि गोल गर्नबाट चुक्यो । पेरुले कोपा अमेरिकामा ४१ वर्षपछि ब्राजिललाई हराएको हो । यसअघि सन् १९७५ मा पेरुले ब्राजिललाई हराएको थियो ।

समूहको पहिलो खेलमा इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा हाइटीलाई ७–१ ले हराएको थियो । ब्राजिल कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको २९ वर्षमा यो पहिलो पटक हो । यसअघि सन् १९८७ मा पनि ब्राजिल कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको थियो । हाइटीलाईलाई १–० ले हराएको पेरु दोस्रो खेलमा इक्वेडरसँग २–२ को बराबरीमा रोकिएको थियो । पेरुले अब क्वाटरफाइनलमा कोलम्बियासँग खेल्ने छ ।