राजनीति

नयाँ शक्ति नेपाल पार्टीको औपचारिक घोषणा

काठमाडौं । एमाओवादीबाट छुट्टिएर नयाँ शक्ति नेपालको अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार दशरथ रंगशालामा आयोजित विशेष कार्यक्रममा नयाँ शक्ति नेपाल पार्टीको औपचारिक घोषणा गरेका छन् । नयाँ शक्ति नेपालले भव्य समारोहकाबीच पार्टी घोषणा सभामा ड्रोन क्यामेराको प्रयोग गरी प्रविधिको भरपूर प्रयोग गरिएको थियो ।  नयाँ शक्ति घोषणा सभाको दृष्य खिच्नका लागि उक्त ड्रोन प्रयोग गरिएको हो ।

दलका शीर्ष नेता तथा विदेशी अतिथिहरुको उपस्थितमा पार्टीका संयोजक रहेका भट्टराईले पार्टीका सदस्यहरुलाई सामूहिक सपथ ग्रहण गराए । घोषणा सभामा प्रमुख राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, भारतीय राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।यसअघि राजधानीका विभिन्न स्थानबाट ¥यालीसहित नयाँ शक्तिका कार्यकर्ताहरु रंगशाला पुगेका थिए ।

पार्टी घोषणासभामा उपस्थित भएका दलका शीर्ष नेताहरुले नयाँ शक्ति नेपालको सफलताको शुभकामना व्यक्त गरे ।

 नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले त्यहाँ उपस्थित कार्यकर्तालाई देखेर नयाँशक्तिको भविष्य राम्रो भएको विश्वास ब्यक्त गरे । ‘नयाँ शक्ति नेपाल’ नेपालमा संविधानमा बनेपछि पार्टीका रुपमा घोषणा हुँदै गरेको भन्दै देउवाले भने, ” संविधान बनेपछि हामीले पनि अब विकास र समृद्धि भनेका छौं ।’

 

समारोहको आकर्षण बनिन् करिष्मा 

 पार्टी घोषणा कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुँदा हुँदै पनि समारोहको आकर्षण अभिनेत्री  करिश्मा मानन्धर बनिन् । अभिनेत्री करिश्मा मानन्धरले कार्यक्रम सञ्चालन गरेकी थिइन् । तर, उनी आकर्षणको केन्द्रविन्दू बन्दा बन्दै पनि उद्घोषणका क्रममा भने नराम्ररी चिप्लिइन् । 

अभिनेत्री मानन्धरले नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई “डा प्रदीप भट्टराई” भनेर मञ्चमा बोलाइन् । करिश्माले आफ्नो नाम नै गलत भनेपछि प्रदीप गिरीले पनि शुभकामना दिँदा दिँदै करिश्मालाई सुझाव दिए ‘सुन्दरी करिश्मा जी १ न त म डाक्टर हो न त भट्टराई अगामी वक्ताको नाम पहिल्यै पढ्नुस् आउँदा हडवढाएर ठेस नलागोस् ।’

करिश्माको उद्घोषणमा धेरै पटक समस्या देखियो । उनले ब्राजिलका राजदूतलाई हर एक्सेलेन्सी मात्र भनिन् नाम भन्ने बेलामा उच्चारण गर्न सकिनन् र एम्बासडर भन्न पनि विर्सिइन् । उद्घोषणका क्रममा पटक–पटक हड्बडाउँदा उनको ‘करिश्मा’ निरस बनेको थियो । पार्टीले ३१ र ३२ जेठमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा छलफल सत्र सञ्चालन गर्ने भएको छ ।