राजनीति

देउवा दवामा, थपे तीन केन्द्रीय सदस्य

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन केन्द्रीय सदस्य मनोनीत गरेका छन्। यो मनोनयनसँगै देउवाले मनोनीत गरेका गरेका केन्द्रीय सदस्यगको संख्या १० पुगेको छ।

नेपाली कांग्रेसको विधानले केन्द्रीय समिति ८५ सदस्यीय हुने व्यवस्था गरेको छ। त्यसमध्ये महाधिवेशनबाट ३ पदाधिकारी र ६१ केन्द्रीय सदस्य गरी ६४ निर्वाचित हुन्छन्। बाँकी २१ जना सभापतिले मनोनीत गर्न पाउने व्यवस्था छ।

सभापति शेरबहादुर देउवाले सात जनालाई कार्यभार ग्रहण गरेकै दिन नियुक्त गरेका थिए भने थप ३ जनालाई मनोनीत गरेका हुन्।  मनोनीत हुने केन्द्रीय सदस्यहरुमा पूर्व केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे र किशोरसिंह राठौर छन्।

कांग्रेसको १३ औं महाधिवेशनमा चुनाव हारेका नेताले केन्द्रीय सदस्य मनोनित गर्न दबाब तिव्र पारेपछि सभापति शेरबहादुर देउवा तनावमा परेका छन् ।  केन्द्रीय सदस्यमा पराजित सबैले मनोनित गर्न भन्दै धम्की दिन थालेपछि देउवा तनावमा परेका हुन् ।

पराजितहरुको दवावबीच देउवाले शुक्रबार मात्रै १३ औं महाधिवेशनमा चुनाव नलडेका तीन नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् । अब केन्द्रीय समितिमा ११ सदस्यको मनोनयन गर्न बाँकी छ । देउवा निकट स्रोतका अनुसार ११ मध्ये ६ सिटमा तत्कालै मनोनयन गर्ने योजनामा देउवा रहेका छन् ।

त्यससँगै ४२ वटा विभाग प्रमुख मनोनयन गर्ने तयारीमा देउवा रहेका छन् । यता देउवालाई केन्द्रीय सदस्यमा पराजित भएकाहरुलाई पुनः मनोनित नगर्न दबाब दिएका छन् । केही नेताहरुले भने पराजित भएकाहरुलाई मनोनयन गर्ने परम्परा नै भइसकेको भन्दै मनोनयन गर्न सकिने सुझाव दिएका छन् ।