राजनीति

परराष्ट्रमन्त्री थापा फेरि किन भारत हानिए ?

काठमाडौं ।  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा  भारत भ्रमणमा गएका छन् । उनले भारतमा महत्वपूर्ण राजनीतिक भेटभार्त गरेका छन् । भारत पुगे लगत्तै राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । शुक्रबार मात्रै भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरी दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको छ ।

नेपाल र भारतबीचको सम्बन्धमा आएको तिक्तता मेटाउने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । शुक्रबार भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धको वर्तमान स्थितिको पुनरावलोकनका विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति मार्फत जनाएको छ ।

भेटमा दुईपक्षीय सबन्धलाई अझ सुदृढ गर्न विभिन्नस्तरमा नियमित रुपमा विचारको आदानप्रदानको महत्वमाथि जोड दिइएको छ । भेटका अवसरमा भारतका तर्फबाट भारतीय विदेश मन्त्रालयका विदेश सचिव डा. एस जयशङ्कर र सहसचिव (उत्तर) अभय ठाकुर तथा नेपालका तर्फबाट भारतका लागि कावा राजदूत कृष्णप्रसाद ढकाल र परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) प्रकाशकुमार सुवेदीको पनि सहभागिता थियो । 

भेटमा परराष्ट्रमन्त्री थापाले भने,  ‘नेपालको भारतसँगको सम्बन्ध कुनै अर्को द्विपक्षीय सम्बन्धसँग दाँज्न सकिँदैन र यसलाई आफ्नै विशेषताका आधारमा हेरिनुपर्छ ।’ उपप्रधानमन्त्री थापा शनिबार अपराह्न दक्षिण एसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन नयाँ दिल्ली पुगेका हुन् ।

यसअघि उपप्रधानमन्त्री थापाले प्रेस क्लब अफ इन्डियामा आयोजित मिट द प्रेस कार्यक्रममा सञ्चारकर्मीलाई तथा नयाँ दिल्लीस्थित  अब्जर्भर रिसर्च फाउन्डेसनमा आयोजित बेग्लै कार्यक्रममा बुद्धिजीवी र कुटनीतिक समुदायको भेलालाई सम्बोधन गर्दै नेपालको इतिहासमा पहिलो पटक जननिर्वाचित प्रतिनिधिद्वारा जारी गरिएको संविधान मार्फत नेपालले शान्ति, प्रजातन्त्र र समावेशी प्रणालीलाई सुदृढ गर्न गरेको प्रगतिबारे प्रकाश पारेका थिए ।