प्रबिधि

सरकारी कर्मचारीलाई इन्टरनेट प्रतिवन्ध !

एजेन्सी । इन्टरनेट आम मानिसको दैनिक जीवनसँग नभइ नहुने चीज जस्तै बनेको छ । विहान उठेदेखि नसुतुन्जेल मानिसहरु इन्टरनेटमा झुम्मिएका हुन्छन् । जसका केही सकारात्मक पक्ष भए पनि उत्तिकै नकारात्मक पक्ष पनि छन् ।

कार्यालयका कर्मचारीहरु इन्टरनेटकै कारण काममा भन्दा सामाजिक सञ्जालमा बढी समय दिन थालेपछि विभिन्न कार्यालयहरुले यसको कटौतीसमेत गर्न थालेका छन् । त्यतिमात्र नभएर गोप्य सूचनाहरु पनि चुहावट हुने प्रवृत्ति पनि बढ्दै गएको पाइएको छ ।

हालै  सिंगापुर सरकारले सरकारी कर्मचारीलाई कार्यालयमा इन्टरनेट चलाउन प्रतिबन्ध लगाउने  निर्णय गरेको छ । आगामी वर्षको मेदेखि सरकारी कार्यालयका कम्प्युटरमा इन्टरनेट ब्लक गरिने भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सरकारी कार्यालयका कम्प्युटरमा रहेका गोप्य एवं सम्बेदनशील कागजातत चुहिने भन्दै सरकारले यस्तो प्रतिबन्ध लगाएको हो। यस्तै त्यहाँका सरकारी अधिकारीले कार्यालयका कुनैपनि डकुमेन्ट निजी इमेलमा फरवार्ड गर्न पनि प्रतिबन्ध लगाएको छ।

त्यहाँको सूचना तथा प्रबिधि बिभागले सवै मन्त्रालय र सरकारी कार्यालयहरुलाई इन्टरनेट प्रतिबन्धसम्बन्धी निर्देशन पठाइसकेको छ। सरकारको नयाँ नियमले झण्डै एक लाख इन्टरेनट जडित सरकारी कम्प्युटर अब इन्टरनेटबिहीन हुनेछन्।