राजनीति

बन्दकर्ताले कोटेश्वरमा ट्याक्सी जलाए

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ माओबादीका कार्यकर्ताले राजधानीको कोटेश्वरमा एउटा ट्याक्सीमा आगजनी गरेको छन् । बिहीबार बिहान कोटेश्वरमा दुई जना बन्दकर्ताले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेला आगजनी गरेको प्रहरीले जनाएको छ ।

कलंकी जान भन्दै आएका दुई जनामध्ये एक जनाले चालकसँग बार्गेनिङ गरेको  र अर्का एक जनाले पेट्रोल खनाएर आगो लगाएको प्रहरी निरीक्षक अजय जोशीले जानकारी दिए ।

आगो लाग्न थालेपछि ट्याक्सीका चालक मकवानपुरका २४ वर्षका सुवास परियार भागेका थिए । उनी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।  आगजनी गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनीका कारण ट्याक्सीमा आशिंक क्षती पुगेको छ ।

विप्लव नेतृत्वको माओवादीले गरेको बन्दका कारण सार्वजनिक यातायात चलेका छैनन् । काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन् । निजी सवारीसाधन पनि छिटपुट रुपमा मात्र चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबीच बन्द गराउँदै हिडेका एक दर्जन बढी बन्दकर्तालाई प्रहरीले काभ्रको बनेपाबाट नियन्त्रणमा लिएको छ ।