राजनीति

सरकार असफल पार्न विदेशी शक्तिको चलखेलः प्रम

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई असफल पार्नका लागि विदेशी शक्ति केन्द्रहरुले चलखेल तीव्र पारेको आरोप लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी समितिको बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अमेरिका र भारतले वर्तमान सरकारलाइ नचाहेकाले विभिन्न तानाबाना बुनिरहेको आरोप लगाएका हुन् ।

राजनीतिक दलहरुबीचको एकता र सहमति जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले विदेशी हस्ताक्षेपको विरोधमा आफू खरो रुपमा प्रस्तु हुने बताए । उनले शक्तिशाली राष्ट्र अमेरिका र भारतलाई इंगित गर्दै एमाले सरकार उल्टयाउन विदेशी हस्तक्षेप हावी भएको आरोप लगाए ।


भद्र सहमतिको विषयलाई लिएर पार्टीका शीर्ष नेताहरुले फरक फरक अभिव्यक्ति दिइरहेका बेला अध्यक्ष ओलीले समेत सहमतिको विषयमा फरक मत राख्दै सरकार परिवर्तनको विषयमा कुनै पनि सहमति नभएको दाबी गरे ।


बैठकमा नेता माधव नेपालले पार्टी नेतृत्व एकलौटी ढङगले चल्न खोज्दा समस्या पैदा भएको बताएका थिए । नेता नेपालले एक्लाएक्लै चल्ने ढंगले अघि बढ्दा पार्टीलाई समस्या आउने र सहमति, सहकार्य र परामर्शमा रहेर प्रधानमन्त्री अघि बढ्दा पार्टीलाई फाइदा हुने बताएका थिए ।

यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेको स्थायी समिति बैठक आइतबार पनि बस्दैछ ।

एमालले आफ्ना सदस्यहरुलाई दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलका लागि बोलाएको छ । आइतबार बस्ने बैठकमा पनि संविधान कार्यान्वयन, राष्ट्रिय सहमतिको सरकार, राष्ट्रिय स्वाधिनताबारे छलफल हुनेछ । यही विषयमा शनिबार पनि छलफल भएको थियो ।