राजनीति

राष्ट्रिय सहमतिको सरकार आवश्यकः महामन्त्री कोइराला

नवलपरासी । नेपाली काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले देशलाई निकास दिन राष्ट्रिय सहमति सरकार आवश्यक भएको बताएका छन् ।
नेपाल विद्यार्थी संघ प्रदेश नं ४ को प्रशिक्षण समारोहलाई नवलपरासीको गैंडाकोटमा सम्बोधन गर्दै उनले भने, ‘जनताले लामो सङंघर्षपछि प्राप्त गरेको संविधानलाई संस्थागत गर्न सबै दल एकजुट भई अघि बढ्नुको विकल्प छैन ।’

वर्तमान सरकार राष्ट्रिय सहमतिका साथ अघि बढ्न नखोजेको आरोप लगाउँदै उनले नेपाली काँग्रेस राष्ट्रिय सहमतिको पक्षमा उभिएको जिकिर गरे ।

नेपाल विद्यार्थी संघ गुटगत राजनीतिमा लागेको भन्दै महामन्त्री कोइरालाले पार्टीले नेविसंघ विघटन गर्न सक्ने चेतावनी समेत दिए।

कार्यक्रममा नेविसंघ अध्यक्ष रञ्जित कर्ण, केन्द्रीय सदस्य गोविन्द भट्टराई, कल्याण गुरुङ, देवेन्द्रराज कँडेललगायतले महाधिवेसन हुनुपर्नेमा जोड दिएका थिए ।

आइतबारसम्म चल्ने प्रशिक्षणमा स्याङ्जा, कास्की, मनाङ, मुस्ताङ, पर्वत, बाग्लुङ, नवलपरासी, गोरखा, म्याग्दी, तनहुँका २२० कार्यकर्ताले प्रशिक्षण लिने आयोजक नेविसंघ नवलपरासीका सचिव अबिनाश रेग्मीले बताए ।

यसैबीच,  नेपाली कांग्रेसको निर्वाचन समितिले सात जिल्लालाई असार पहिलो साताभित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।

कांग्रेसको १३ औं महाधिवेशन गत फागुन तेस्रो साता नै भइसकेको छ । तर, तराई मधेसका तीनसहित सात जिल्ला र एक क्षेत्रको चुनाव हुन सकेको छैन ।

चुनाव हुन नसकेका जिल्लाहरुमा सिरहा, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक, पर्सा, बझाङ र कञ्चनपुर छन् । यस्तै धनुषाको क्षेत्र नम्बर ५ को पनि चुनानव हुन सकेको छैन ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले जेठ २५ देखि असार पहिलो सातासम्ममा निर्वाचन गर्न निर्देशन दिएको छ ।