राजनीति

आन्दोलनरत गठबन्धन जुट्यो अनशनको तयारीमा

काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले आगामी आन्दोलनको विषयमा छलफललाई तीव्रता दिएको छ । पूर्वघोषित कार्यक्रम अनुसार गठबन्धनले जेठ २५ गतेदेखि राजधानीको सहिद मञ्चमा रिले अनशन गर्दैछ । सोही अनसनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल शुरु गरिएको हो ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बिहीबार बसेको गठबन्धन सचिवालयको बैठकले अनशनका लागि चाहिने सामग्रीको तयारीबारे छलफल गरेको गठबन्धन संयोजक उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले बताए ।

सहिद मञ्चमा ४० दिनसम्म अनशन बस्नका लागि ओछ्यान, टेन्ट, साउन्ड सिस्टम, पानी, बिजुलीलगायत अत्यावश्यक वस्तु तथा रातिको व्यवस्थाबारे छलफल भएको उनले जनाए। उनका अनुसार बैठकले आवश्यक सम्पूर्ण कुराको व्यवस्थापन गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ।

जेठ २५ गतेदेखि सुरु हुने अनशन असार मसान्तसम्म चल्नेछ । गठबन्धनमा रहेका प्रत्येक दलले प्रत्येक दिन एक—एक जना पार्टी नेता तथा कार्यकर्ता अनशनमा खटाउने जनाएका छन्।