राजनीति

बजेटमाथिको बहस जारी, मोर्चाद्वारा बहिष्कार

काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा बुधबार पनि बजेटमाथिको बहस जारी रहेको छ । अर्थमन्त्री विष्णु पौडलेले संसदमा पेश गर्नुभएको बजेटमाथि सांसदहरुले बोल्ने क्रम जारी रहेको छ । बजेटमाथिको बहस मंगलबार दिउँसो ११ बजेबाट शुरु भएको हो ।
बजेट सार्वजनिक हुनुभन्दा पहिले नै गोप्य राखिनुपर्ने सूचना चुहावट गरिएको भन्दै पहिलो दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध पारे पनि बजेट चुहावट सम्वन्धि छानविन गर्न सरकारले समिति गठन गरेसंगै मंगलबारबाट बजेटमाथि छलफल सुरु भएको हो ।

सरकारले सांसद रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस बजेटमाथिको छलफलमा सहभागी भएको हो । बजेटमाथि बोल्दै सत्तापक्षका सांसदहरुले बजेटको प्रशंशा गरेका छन् भने प्रतिपक्षी सांसदहरुले कार्यान्वयनमा कठिन रहेको टिप्पणी गरेका छन् ।

यसैबीच, व्यवस्थापिका संसदको बुधबारको बैठक आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध केही साना दलका सदस्यहरुले बहिष्कार गरेका छन् । बैठकमा नेपाली जनता दलका सांसद हरिचरण शाहले राजनीतिक समाधान नगरी बजेटमाथिको छलफलको कुनै औचित्य नहुने भन्दै संसद बहिष्कार गरेको बताए ।