राजनीति

प्रचण्डले लेखे सर्वोच्चलाई यस्तो जवाफ

काठमाडौं ।  सर्वोच्च अदालतमा ‘अदालतको अपहेलनासम्बन्धी’ परेको मुद्दामा एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज लिखित जवाफ पठाएका छन्।

सर्वोच्च अदालतमा पुगी दाहालका तर्फबाट प्रतिनिधिका रुपमा वारेस लोकमणि पोखरेलले अदालतको अपहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएका छन्।

लिखित जवाफमा चर्चामा आउनका लागि मुद्दा दायर गरेर अदालतको दुरुपयोग गरेको उल्लेख गर्दै भनिएको छ, ‘निवेदकले चर्चामा आउनका लागि मुद्दा दायर गरेको ध्यय देखिन्छ, आफ्नो चर्चाका लागि अदालतको दुरुपयोग गर्नु कदापि न्यायसङ्गत हुन सक्दैन ।’

विशुद्ध चर्चामा आउने उद्देश्यले दायर गरेको निवेदन भएको हुँदा निवेदन खारेजीको भागी भएको समेत लिखित जवाफमा उल्लेख छ । आफूले वैशाख ३१ गते राजधानीमा बोलेको एउटा कार्यक्रमको विषयलाई लिएर आफ्नो अनुकूल भाषा प्रयोग गरी अदलबदल गरी लेख्ने÷लेखाउने काम गरेको उल्लेख गर्दै लिखित जवाफमा भनिएको छ, ‘निवेदकले उल्टो अदालतलाई विवादमा ल्याउने काम स्वयम्ले गर्नुभएको छ ।’

द्वन्द्वकालमा भएका घटनालाई लिएर विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप हुनुपर्छ भन्ने मान्यता रहिआएको र सो सम्झौताअनुसार उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न दुवै पक्ष सहमत भएको सर्वविदितै भएको समेत लिखित जवाफमा उल्लेख छ ।