राजनीति

महतो मधेश झरेपछि उपेन्द्रले आन्दोलन उचाले

काठमाडौं । संविधान पुनर्लेखन सहित २६ बुँदे माग अघि सार्दै राजधानी केन्द्रित आन्दोलन थालेको संघीय गठबन्धनमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेस झरेपछि मोर्चाका नेता उपेन्द्र यादवले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका छन् ।

नयाँ संविधान जारी नहुँदैदेखि थालेको मधेस आन्दोलन सफल नभएपछि जेठ १ देखि जनजातिसमेतको साथमा राजधानी केन्द्रित आन्दोलन थालियो । आफ्ना मागहरुप्रति सरकारले वेवास्ता गरेपछि मोर्चाका नेता उपेन्द्र यादवले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको जनाएका छन् । १५ दिनभन्दा बढी राजधानी केन्द्रित आन्दोलन गर्दा पनि सरकारले नसुनेपछि मोर्चाका नेता महतो भने मधेस झरेका हुन् ।

महतोले तराईमा आन्दोलन सशक्त पारिरहेका छन् । आफूहरुको माग पूरा नभएसम्म काठमाडौं नछाड्ने बताएका महतो आइतबार बीरगञ्जको आन्दोलनको अगुवाइ गरे ।

महतो र उपेन्द्रबीच विवाद भइरहँदा महतो नभएको मौका पारी उपेन्द्रले सोमबार राजधानी केन्द्रित आन्दोलनकै नयाँ कार्यक्रम सार्वजनिक गरेका हुन् ।

गठबन्धनको तर्फबाट सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २५ गतेदेखि राजधानीमै रिलेअनसन गर्ने रहेको छ । महतो लगायत मधेसी मोर्चाका नेताहरु भने मधेसमै आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् ।

यस्तो छ आन्दालनको कार्यक्रमः

१. २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौँको शहीद मञ्चमा रिले अनसन बस्ने ।
२. गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भातृ सङ्गठनहरूलाई पनि सहभागी गराएर प्रत्येक दिन १÷१ जना अनसन बस्ने ।
३. आन्दोलनलाई प्रभावकारी बनाउन प्रत्येक दिन ३ बजे पश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा र जनसभाको आयोजना गर्ने ।
४. प्रदेश तथा जिल्लाहरूले पनि गठबन्धनका घटक दलहरूको बैठक बसी यस्तै प्रकृतिका आन्दोलनका कार्यक्रमहरू तय गर्न सकिने ।
५. अन्य कार्यक्रमहरू आवश्यकता अनुसार गठबन्धनले सार्वजनिक गर्ने ।