राजनीति

कांग्रेसले माग्यो अर्थमन्त्रीको राजिनामा

काठमाडौं । नेपाली कांग्रेसले ओली सरकाले ल्याएको बजेटलाई हावादारीको संज्ञा दिँदै अर्थमन्त्री विष्णु पौडेलको राजीनामा मागेको छ ।
आर्थिक अनुशासन तोडेर ल्याइएको आर्थिक वर्ष २०७३–७४ को बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकाल्दै कांग्रेसले अर्थमन्त्री पौडेलको राजीनामा मागेको हो ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बजेटमा कार्यान्वयनका लागि नीतिगत एवम् संरचनागत व्यवस्था नभएकाले कोरा कल्पनामा सीमित हुने ठहर गर्दै अर्थमन्त्रीको राजीनामा मागेको हो ।

छलफलमा नेताहरु विमलेन्द्र निधि, डा. रामशरण महत, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महतलगायतले बजेटले मुद्रास्फीति बढाई अर्थतन्त्रलाई डामाडोल बनाउने बताए ।

बजेटको आकार र प्राथमिकताको सूचना अघिल्लै दिन सञ्चारमाध्यमबाट सार्वजनिक भएकाले अर्थमन्त्री पौडेलले नैतिक रुपमा राजीनामा दिनुपर्ने कांग्रेसको माग छ ।