राजनीति

रत्नपार्कमा गुड्यो ओली एक्सप्रेस !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाली विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै रत्नपार्कको शान्ति बाटिकामा शुक्रबार प्रदर्शन गरेको छ । विद्यार्थीहरुले नक्कली केपी ओलीलाई रत्नपार्कमा उपस्थित गराएर  ‘पानीजहाज’को उद्घाटन गराए ।  केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै पानी जहाज हुने दिएको अभिव्यक्तिमाथि व्यग्य गर्दै नेविसंघले रत्नपार्कमै पानी जहाज गुडाएर उद्घाटन गरेको हो ।
केही दिन अघि पनि नेविसंघले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्दै सडकमै कागजको पानी जहाज गुडाएर सांकेतिक विरोध प्रदर्शन गरेको थियो ।
शुक्रबारको प्रदर्शनमा भने नेविसंघले प्रधानमन्त्री (नक्कली)लाई नै उभ्याएर रत्नपार्कमा ओली एक्सप्रेस गुडाएको हो ।  प्रधानमन्त्रीको क्यारिकेचर गर्न कलाकार ज्योती काफ्ले उपस्थित भएका थिए । हात हल्लाउँदै ओली शैलीमा आएका ज्योतीले रत्नपार्कको सडकमा कागजको पानी जहाज गुडाएका थिए ।