राजनीति

बजेटपछि मेरै नेतृत्वमा सरकार: प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट लगत्तै आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आगामी बजेट लगत्तै आफ्नो नेतृत्वमा सरकार बनाउने सत्तारुढ दल एमालेसँग सहमति भएको उनले खुलासा गरेका हुन् ।
आफ्नो नेतृत्वमा सरकार बनाउने लिखित सहमति नभए पनि एमालेसँगको नौ बुँदे सहमतिका क्रममा आफ्नो नेतृत्वमा सरकार बनाउने समझदारी भएको दाबी गर्दै बजेट आएसँगै सरकार परिवर्तको खेल शुरु हुने र त्यहामा नेतृत्व आफ्नो काँधमा आउने ठोकुवा गरे ।
यता एमालेले भने ओली नेतृत्वकै सरकारलाई निरन्तरता दिने माओवादीसँग सहमति भएको दाबी गर्दै आएका छन् । तर दलहरुले भने संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड दिँदै आएका छन् ।
संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, मधेस समस्या समाधान र विकास निर्माणका लागि राष्ट्रिय सहमति जरुरी रहेको उनले बताए । आफ्नो पक्षमा राष्ट्रिय सहमति जुट्न सहज हुने समेत प्रचण्डले दाबी गरे ।
भूकम्प गएलगत्तै राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकाले दह्रोसँग उभिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई आफूले आग्रह गरेको भन्दै संविधान जारी हुँदासमेत आफूले राष्ट्रिय सहमतिमै जोड दिएको प्रचण्डले चर्चा गरे ।
त्यस्तै, अध्यक्ष प्रचण्डले सबै दलबीच सहमति गरी स्थानीय निकायको निर्वाचन गरिने बताए । सरकारले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने नीति तथा कार्यक्रममा नै उल्लेख गरे पनि प्रचण्डले सहमतिमा मात्रै निर्वाचन हुने बताए । फागुनको अन्त्यसम्ममा स्थानीय पुनःसंरचनाको आयोगको प्रतिवेदन आउने भएकाले त्यसअघि स्थानीय निकायको निर्वाचन नहुने उनले प्रष्ट्याए । स्थानीय पुनःसंरचनाको आयोगको प्रतिवेदन नआउँदासम्म स्थानीय निकायको निर्वाचन नगर्न प्रमुख विपक्षी दल कांग्रेसले समेत सुझाएको उनले बताए । उनले आगामी मंसिरमा नभइ चैत–बैशाखसम्ममा स्थानीय निकायको निर्वाचन हुने सम्भावना रहेको औंल्याए ।

सर्वोच्चमा लिखित जवाफ पठाउँदै प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा शुक्रबार लिखित जवाफ पठाउने भएका छन् ।
अदालतको मानहानी गरेको भन्दै प्रचण्डविरुद्ध परेको रिटमा तीन दिनभित्र सर्वोच्चमा उपस्थित हुन आदेश दिइएको थियो । तर प्रचण्ड भने सर्वोच्चमा उपस्थित नभइ लिखित जवाफ पठाउने भएका हुन् । चितवनमा विहीबार भएको पत्रकार भेटघाटका क्रममा प्रचण्डले आफूले अदालतको सम्मान गर्ने बताए । अदालतको सम्मान गर्दै आफूले अदालतमा लिखित जवाफ पठाउन लागेको उनले बताए । आफू नै जानुपर्ने नदेखिएकाले लिखित जवाफ लिएर वारेस पठाउने उनले जानकारी दिए ।