राजनीति

कांग्रेसभित्र स्थानीय चुनावका कुरा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो तथा अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनबारे छलफल थालेको छ ।  सरकारले मंसिरभित्र अन्तरिम स्थानीय निकायको चुनाव गर्ने घोषणा गरेपछि कांग्रेसले चुनावका विषयमा आन्तरिक छलफल तीव्र पारेको हो ।

संसदीय दलको कार्यालयमा बुधबार भएको छलफलमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादवका साथै नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, महेश आचार्य, बालकृष्ण खाण र डा. प्रकाशरण महत उपस्थित थिए ।

बैठकपछि नेता पौडेलले स्थानीय निकायको निर्वाचनका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रारम्भिक चरणको छलफल  भएको  जानकारी दिए ।

बैठकमा नेताहरुले सरकारले निर्वाचन गर्ने प्रयोजनले नभइ सस्तो लोकप्रियताका लागि स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको बताएका छन् । कतिपयले मधेसवादी दलहरुले संविधानप्रति असन्तुष्टि जाहेर गरी आन्दोलन गरिरहेको अवस्थामा स्थानीय निकायको निर्वाचन असम्भव रहेको धारणा समेत राखेका थिए ।