राजनीति

उखान टुक्काविरुद्ध खनिए खनाल र नेपाल

काठमाडौं  । एमाले अध्यक्ष केपी ओली विरुद्ध आफ्नै पार्टीका नेताहरु विरोधमा उत्रिएका छन् । ओली नेतृत्वमा सरकार बनेको आठ महिना पनि वित्न नपाउँदै उनकै पार्टी एमालेभित्र संगठित असन्तुष्टिका स्वर चर्किन थालेका हुन्।

माधवकुमार नेपाल र झलनाथ खनालले काठमाडौंमा आफू पक्षधर नेताकार्यकर्ताको भेला गर्दै अध्यक्ष ओलीको सत्तोसराप खन्न थालेका छन् ।

पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले सरसल्लाहका लागि कुनै उपयुक्त फोरम नदिएको भन्दै उनीहरुले दुई दिने भेला आयोजना गरेका हुन् । भेला बुधबार समापन हुँदैछ ।

भेलामा एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई सुहाउँदा र सक्ने सपना मात्रै देख्न आग्रह गरे । नपत्याउँदा सपना बाँडेर मजाकको पात्र नबन्न उनले प्रधानमन्त्री ओलीलाई सुझाएका छन् ।
प्रधानमन्त्रीले एकपछि अर्को विकासका योजना घोषणा गर्दै नेता नेपालले व्यंग्य गर्दै नेपालले भने, ‘घरघरमा ग्यास पाइप फिट गरिदिने कुरा पनि आएको छ, सपना देख्न पाइन्छ तर यो कुरा सगरमाथाबाट दार्चुलासम्म केबलकार चलाउँछु, विदेशबाट १० करोड पर्यटक भित्र्याउँछु भनेजस्तै हो । सपना देख्नुपर्छ, सपना देख्नु राम्रो पनि हो तर त्यो यथार्थ र तथ्यसंगत हुनुपर्छ ।’

नेता नेपालले पार्टी भित्र मौलाएको आसेपासे पोस्ने प्रवृत्तिले एमाले नै धरासायी बन्ने अवस्थामा पुगेको बताए । केन्द्रीय समिति र पोलिटब्युरोमा मात्र होइन, नेताहरुबीच कुनै सल्लाह नहुने गरेको उनको भनाइ थियो । योभन्दा विडम्वना के अरु के हुन सक्छ ? उनले भने, ‘म पार्टीको विदेश विभाग प्रमुख हुँ तर, कहिले को चीन जान्छ मलाई नै अत्तोपत्तो हुँदैन ।’ विज्ञलाई समेत बाहिर राखेर आसेपासेलाई स्थान दिनु पार्टीका लागि नै घातक भएको उनको तर्क थियो ।

नेपाल–खनाल पक्षले आगामी दसौं महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारका रुपमा नेपाललाई अगाडि सारेको छ । ओली पक्षले यस्तो भेला गर्न र आफ्नो समूह बलियो बनाउन मदन भण्डारी प्रतिष्ठान र नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रलाई ब्यानर बनाउँदै आएका छन् ।