राजनीति

वार्ताको मध्यस्थता कांग्रेसले गर्छ: पौडेल

नवलपरासी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार र आन्दोलनरत संघीय गठबन्धनबीच वार्ताका लागि नेपाली कांग्रेसले मध्यस्थता गर्ने बताएका छन् । नवलपरासीमा नेता पौडेलले मुलुकको समस्या समाधान गर्न आन्दोलनकारी र सरकारबीच मध्यस्थता गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । अब आफूहरुले त्यसका लागि पहल थाल्ने उनको भनाई थियो ।
पौडेलले भने, ‘मुलुक डेडलकमा फसेको छ । हामी सबै पक्षसँग कुरा गरेर वार्ताको वातावरण बनाउँछौं ।’
शाखा सभापति पुरुषोत्तम सुवेदीको सभापतित्वमा भएको साक्षात्कारमा उनले अब कांग्रेसले वार्तासँगै संविधान कार्यान्वयनका लागि समेत नेतृत्व लिने स्पष्ट पारे ।
‘देशमा तत्काल देखिएको विभिन्न समस्या समाधानमा कांग्रेस अघि बढ्छ,’ उनले भने, ‘अब देशलाई निकास दिन कांग्रेसले संविधान कार्यान्वन साथै लोकतन्त्र संस्थागत गर्न आफूलाई केन्द्रीत गर्छ ।’
सरकारले जनतामुखी काम गर्न नसकेको आरोप लगाउँदै उनले स्थानीय निकायको निर्वाचन गराउने चर्चा अनावश्यक भएको दाबी गरे । उनले तत्काल स्थानीय निकायको निर्वाचनभन्दा पनि संविधान कार्यान्वयन र जनताको सरोकारका विषय समाधान गर्नु पहिलो प्राथमिकताको विषय भएको बताए ।
देश संघीयतातर्फ उन्मुख भईसकेकाले पुरानो संरचनाको गाविस वा नगरपालिकाको नभई संघीयताका आधारमा गाउँपालिका, नगरपालिका अनुसारको निर्वाचन आवश्यक रहेको उनको भनाई थियो ।