राजनीति

बादलले पार्टी छाडे, कार्यालय छाडेनन्

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीबाट नेकपा माओवादी केन्द्रमा समावेश भएका वादलले पार्टी छाडे पनि पुरानो पार्टी कार्यालय भने छाडेका छैनन् । कार्यालयमा उनी अहिले पनि जाने गरेका छन्, कार्यालय उनकै कब्जामै रहेको छ ।

नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा छ । अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकतामा असहमति राखेपछि बादलले आफूपक्षीय सदस्यको केन्द्रीय समिति बैठक राखेर आफैँलाई अध्यक्ष घोषित गरेका थिए । त्यसपछि उनी वैद्यलाई छाडेर पार्टी एकतामा गएका थिए ।


भाडाको घर भए पनि  बुद्धनगरको कार्यालयले राजनीतिक महत्त्व बोकेको भन्दै बादल पक्षले नछाड्ने जनाएको छ । बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले कार्यालय पनि आफ्नै हुने भन्दै उसले वैद्य पक्षलाई कार्यालय सार्न आग्रह गर्ने भएको छ ।

नेता सावित्रीकुमार काफ्लेले जनवादी केन्द्रीयतालाई मान्ने हो भने बहुमतका आधारमा कार्यालय आफूहरूको भएको बताए । वैद्यले आवश्यक ठानेमा कार्यालयका फर्निचर दिन सकिने बादल पक्षको भनाइ छ ।
तर, वैद्य पक्षका सचिवालय सदस्य रामसिंह श्रीषले कार्यालयका विषयमा कुराकानी नै नभएको बताए ।‘उहाँहरू अर्को पार्टीमा मिसिन गइसकेपछि कार्यालयका विषयमा विवाद गरेर के अर्थ रहला र रु श्रीसले भने । कार्यालयको दोस्रो तलामा वैद्य र नेता सिपी गजुरेलको कोठा छ । पहिलो तलामा भने बादल, देव गुरुङलगायत नेताको कोठा छ ।‘माथिल्लो तलामा रहेका नेताहरू एकातिर र तल्लो तलामा रहेका नेताहरू एकातिर रहेका कारण पनि अहिले फ्ल्याट भाडामा लिएर बसेकोजस्तो र सहज देखिएको छ ।’ वैद्य पक्षका एक नेताले भने ।
पुरानै कार्यालयमा बादलको बैठक बिहीबार पार्टी एकता गरेका बादलले शुक्रबार र शनिबार दुवै दिन बुद्धनगरको पुरानो पार्टी कार्यालय प्रयोग गरेका छन् । एकतामा असहमति राखेका नेकपा क्रान्तिकारी अध्यक्ष मोहन वैद्यले सोही भवनमा शुक्रबार र शनिबार केन्द्रीय कमिटीको बैठक राखेका थिए । दोस्रो र तेस्रो तलामा वैद्यको बैठक चलिरहेको थियो । भुइँतला र पहिलो तलामा भने बादल नेता–कार्यकर्तासँग छलफल गरिरहेका थिए ।