राजनीति

ओली सरकारको कान खोल्न सडकमा शंखनाद

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले ओली सरकारको कार्यशीलीको विरोध गर्दै सडक संघर्ष गरेको छ । वर्तमान सरकार विरुद्ध विद्यार्थीले शंख फुक्दै, शरीरमा विभिन्न नारा लेखिएको कालो कपडा लगाएरका सडकमा उत्रिएका थिए । सरकारले कालोबजारी नियन्त्रण गर्न कुनै पहल नगरेको भन्दै सरकार विरुद्ध सडक प्रदर्शन गरेको जनाएको छ ।

प्रदर्शनका क्रममा बिहीबार नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग समेत गरेको छ ।  नेविसंघ काठमाडौँ जिल्ला समितिले गरेको प्रदर्शन राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट सुरु भएर रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । सरकार विरुद्धको प्रदर्शनमा प्रदर्शनकारीले शिरमा कालो टालो बाधेँका थिए भने कालो नै मास्क लगाएका थिए ।

नेविसंघले विरोध प्रदर्शनमा बोकेका व्यानरमा‘ओली सरकारको बहार, मन्त्री नै मन्त्री उपहार’, ‘सरकार कता हरायो ओलीजी देश त कालो बजारीले चलायो’ जस्ता विभिन्न नारा लगाएका थिए ।
सरकार विरुद्ध सडकमा उत्रिएको नेविसंघले जेठ १० गते बिहान प्रधानमन्त्री निवासमा खाली सिलिण्डर र जार प्रदर्शन गर्ने भएको छ । नेविसंघले सरकार जिम्मेवार नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत चेतावनी दिएको छ ।