राजनीति

एकतापछि बन्यो ‘नेकपा माओवादी केन्द्र’

काठमाडौं ।  एमाओवादीसहित विभिन्न १० वटा कम्युनिष्ट पार्टीबीच एकता भएको छ । विहीबार काठमाडौंमा भएको एक कार्यक्रमबीच पुष्पकमल दाहालको नेतृत्वमा रहेको एमाओवादीसहित १० वटा कम्युनिष्ट पार्टीबीच एकता भएको हो ।
एकिकृत नेकपा माओवादी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी, नेकपा माओवादी बिद्रोही, गौरवशाली पार्टी नेपाल, नेपाल कम्यृनिष्ट पार्टी, बामपन्थी एकता मञ्च, नयाँ शक्ति अभियान नेपाल र पूर्व माओवादी नेतृ जयपुरी घर्ती मिलेर नयाँ पार्टी गठन भएको हो । एकतापछि पार्टीको नाम पनि नयाँ भएको छ । ‘नेकपा माओवादी केन्द्र’ नामक नयाँ पार्टीको नेतृत्व एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नै गर्नेछन् ।
उनको नेतृत्वमा ६ सय ९९ सदस्यीय केन्द्रीय समिति पनि गठन भएको छ । एकतासभामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले एकतासँगै अब पुरानो माओवादी पार्टी सकिएको बताउँदै अब नयाँ पार्टीले देशलाई नयाँ उचाइमा पु¥याउने बताए ।

पार्टी एकता कार्यक्रममा प्रचण्डले भने–‘माओवादीको पराजयको दिन सकिएको छ र विजयको दिन सुरु भएको छ ।’ राजतन्त्र फर्काउन खोज्नेहरुको सपनाको समाप्त भएको भनदै यो एकता माओवादीको मात्र एकता नभएर र यसले नेपालको नै एकता गराउने दाबी गरे ।

बैद्य र बाबुरामलाई पनि पार्टी एकतामा आउन दाहालले आह्वान गरे । बुर्जुवाहरुलाई लिएर हिँड्न छाडेर एकतामा आउन उनले भट्टराइलाई आग्रह गरेका थिए। दाहालले आफ्नो नेतृत्वमा १० बर्ष जनयुद्ध भएको, पार्टी १० टुक्रामा विभाजित भएको र अहिले एकता भएको सौभाग्य कमैले पाउने बताए । एकतासभामा रामबहादुर थापा बादलले सबै षडयन्त्रहरुलाई चिर्दै नयाँ पार्टीको घोषणा गर्न सफल भएको बताए ।

एकता घोषणासभामा भावुक देखिनु भएका अध्यक्ष दाहालले माओवादी विभिन्न टुक्रामा विभक्त हुँदा असाध्यै पीडामा रहेका सहिद परिवार, बेपत्ता योद्धाका परिवारले अब रुनु नपर्ने बताए ।  पार्टी विभिन्न टुक्रामा विभक्त हुँदा सहिद परिवार, घाइते र अपाङ्गता भएका परिवारमा ठूलो पीडा भएको भन्दै उनले आफूहरु आँशु पुछ्न घरदैलोमा नै आउने वाचा गरे ।


एकीकृत पार्टीको आगामी एक वर्षभित्र महाधिवेशन गरिने सो अवसरमा जानकारी दिइयो । महाधिवेशन आयोजक समितिको संयुक्त बैठकले नयाँ जनवादी क्रान्तिलाई पूर्णताः दिएर समाजवादी क्रान्ति गर्ने नयाँ कार्यनीति पारित गरेको छ ।

दश वर्षसम्मसँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहो¥याएका माओवादीका नेता विभिन्न समूह र घटक एकै ठाउँमा उभिका छन्, तर उनीहरुको आगामी रणनीति कस्तो हुने हो त्यो भने प्रतिक्षाको विषय बनेको छ ।