राजनीति

गठबन्धनको आनदोलन अन्तर्गत आमसभा

काठमाडौं । संघीय गठबन्धनले आन्दोलनको स्वरुपलाई परिवर्तन गर्दै आज रत्नपार्क केन्द्रित हुने भएको छ । रत्नपार्कबाट शक्तिप्रदर्शन गरेर लगातार दुई दिन सिंहदरबार घेराउ गरेको गठबन्धनले मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटार घेराउ गरेको थियो । गठबन्धनको आन्दोलन बुधबार फेरि रत्नपार्क केन्द्रित भएको छ ।
मंगलबार बालुवाटार घेराउमा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । बिहान १० बजे गठबन्धनका नेता–कार्यकर्ता भाटभटेनीबाट जुलुससहित बालुवाटारतर्फ लागेका थिए । सुरुमै प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर झडप भएको थियो । झडपमा दुबै पक्षका केही घाइते भएका थिए ।
काठमाडौंकेन्द्रित आन्दोलनको चौथो दिन गठबन्धनले रत्नपार्कको शान्तिबाटिकामा दिउँसो आमसभा गर्दै छ । आमसभालाई गठबन्धनका २९ दलका नेताले सम्बोधन गर्नेछन् । आन्दोलनको समीक्षा गर्न २९ दलीय संघीय गठबन्धनको मूल समिति बैठक बुधबार बिहान ८ बजे बस्दैछ ।

संघीय समाजवादी फोरमको कार्यालयमा बस्ने बैठकले आन्दोलनका थप कार्यक्रमबारे पनि छलफल गर्नेछ । गठबन्धनका नेताहरूले दिएको जानकारीअनुसार रत्नपार्ककेन्द्रित आन्दोलन, रिले अनशनलगायत कार्यक्रमबारे छलफल भइरहेको छ । तर, तत्काल कडा प्रकृतिको आन्दोलनको कार्यक्रम भने सार्वजनिक नगरिने नेताहरूले बताएका छन् ।