राजनीति

माओवादी एकताको अन्तिम तयारी

काठमाडौं, जेठ– ५ । विभिन्न टुक्रामा विभाजित माओवादी घटकले यही जेठ ६ गते विहिबार औपचारिक रुपमा पार्टी एकताको घोषणा गर्ने भएका छन् । एकीकृत नेकपा (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेत्रविक्रम चन्दको नेतृत्वमा रहेका माओवादी र नयाँ शक्ति नेपालमा लागेका केही नेताहरुले संयुक्त रुपमा एकताको घोषणा गर्ने तयारी गरेका हुन् ।

पार्टी एकतालाई अन्तिम रुप दिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट रामबहादुर थापा, देव गुरुङ, हितमान शाक्य, कुलप्रसाद केसीलगायतको समूहले साङ्गठनिक तथा सैद्धान्तिक विषयमा छलफल गर्ने जिम्मेवारी तोकिएको छ ।

एकताका लागि राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा एमाओवादी अध्यक्ष दाहाललाई दिइएको छ । दाहाल यतिखेर प्रतिवेदन लेखनमा व्यस्त भएका छन् ।  अध्यक्ष दाहालले एकताका न्यूनतम आधारसम्बन्धी १३ बुँदे सहमतिमा हस्ताक्षर भएपछि सोही आधारमा विस्तृतमा व्याख्या गर्दै एकता भेलामा प्रस्तुत गर्ने तयारी गरिरहेका छन् । अध्यक्ष दाहालले एकता प्रक्रियालाई गति दिनका लागि आकस्मिक भेटघाट तथा सार्वजनिक सबै कार्यक्रम स्थगित गरी एकताको तीव्र तयारीमा जुटेका छन् ।

एकता घोषणा भएको एक वर्षभित्र महाधिवेशन गर्ने तयारी समेत गरिएको छ । हाल एमाओवादीको केन्द्रीय समितिमा १५० जना रहेको, बादलसँगै आउने सबै, क्रान्तिकारी कम्युनिष्ट पार्टी र अन्य घटकबाट आउने सबैलाई समेटेर ४९९ जनाको केन्द्रीय समिति बनाउने तयारी गरिएको छ ।