राजनीति

‘मधेशबाट लखेटिएपछि काठमाडौंमा नाटक’

काठमाडौं । संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन चर्काइरहेका बेला प्रधानमन्त्री  केपी ओली शर्मा ओलीले गठबन्धनको सिंहदरबार घेराउ आन्दोलन जारी रहे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । उनले आन्दोलनरत गठबन्धनलाई मधेशबाट जनताले खदेका कारण सिंहदरबार वरिपरि आएर ‘नाटक’ गरेको आरोप समेत लगाउन भ्याएका छन् । स्वर्गीय मदन भण्डारीको २३ औं स्मृति सभाको सन्दर्भमा  पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले संघीय गठबन्धनलाई मधेशबाट खेदिएपछि राजधानीमा आएर जनतालाई दुःख दिन तल्लिन रहेको आरोप लगाएका हुन् । उनले वार्ताको माध्यमबाट समस्याको समाधान गर्न छोडेर जनतालाई दुख दिने गरी आन्दोलन गर्नुको कुनै तुक नभएको तर्क गरे ।

प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा जनतालाई लामो समयसम्म दुख दिनेहरूलाई जनताले कहिल्यै माफी नदिने भन्दै अब पनि आन्दोलनका नाममा जनतालाई दुख दिइरहे सरकार चुप लागेर नबस्ने चेतावनी दिए । उनले भने–‘सडकमा उभिएर दुई–चारजना मान्छेले ट्राफिक जाम गरेका छन्,’ ‘सरकारले एक–दुई दिन मात्र छुट दिन्छ, त्यसपछि चुप लागेर बस्दैन ।’