राजनीति

संघीय गठबन्धनले सिंहदरबारपछि बालुवाटार घेर्दै

काठमाडौं । संघीय गठबन्धनको काठमाडौं केन्द्रित आन्दोलन थप शसक्त बन्दै गएको छ । पहिलो दिन शान्ति बाटिकाबाट शक्ति प्रदर्शन गरेको गठबन्धनले दोस्रो र तेस्रो दिन सिंहदरबार घेराउ ग¥यो । अब, उनीहरुको अन्दोलन बालुवाटार केन्द्रित हुने भएको छ ।

सोमबार सिंहदरबार घेराउ पछि गठबन्धनका नेताहरुले अबको आन्दोलन  वालुवाटारमा गर्ने निर्णय गरेका हुन् । गठबन्धनले दुई दिनको सिंहदरबार घेराउपछि मंगलबारबाट वालुवाटार घेराउ गर्ने निर्णय गरेको हो ।

सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिन धर्ना प्रदर्शन गरेको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको छ ।
गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार घेर्ने तयारीमा जुटेका छन् । माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास वालुवाटार घेराऊ गर्न लागिएको गठबन्धनले जनाएको छ ।