राजनीति

एकता अगावै प्रचण्डले बादलको मुख मिठ्याए

काठमाडौं ।  एमाओवादी र  नेकपा क्रान्तिकारी औपचारिक रुपमा एकता हुनु अगावै खुशीयाली साटासाट भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले बादल लगायतका पार्टीमा एकत्रित हुने नेताहरुहरुलाई लड्डु खुवाएर खुशी बाँडिसकेका छन् ।

प्रचण्डले बादल लगायत नेताहरुलाई लड्डु बाँडेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त तस्बिर प्रचण्ड पुत्र प्रकाश दाहालले फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । तस्बिरमा नेत्री पम्फा भुषाल र (नेकपा क्रान्तिकारी)का महासचिव मणि थापा पनि देखिएका छन् । सबैले लड्डु खाएर मुख मिठ्याएका छन् । सबैजना प्रशन्न मुद्रामा देखिएका छन् । तस्बिर पोस्ट गर्दै प्रकाशले फेसबुकमा लेखेका छन्, ‘‘एकताले अन्तिम रुप लिएपश्चात यसको खुशीमा मिठाइ साटासाट गर्दै ।’ यही जेठ ६ गते दिउँसो दुई बजे भृकुटीमण्डपमा चार माओवादी पार्टीबीच एकताको घोषणासभा हुँदैछ ।

एकीकृत नेकपा माओवादी, पुनर्गठित नेकपा क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा (माओवादी) र विप्लव माओवादीका केहि नेताहरुबीच एकता हुन लागेको हो । यी दलहरुबीच एकताको विषयमा शनिबार १३ बुँदे साझा सहमतिमा हस्ताक्षर भएको थियो ।