राजनीति

'माग पूरा नभएसम्म आन्दोलन जारी'

काठमाडौं । संविधानको विरोध गर्दै आएको सङ्घीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन सशक्त बनाउँदै लगेको छ । आइतबार सिंहदरबार घेराउ गरेको गठबन्धनले सोमबार (आज) पनि आन्दोलन तथा प्रदर्शनलाई निरन्तरता दिने भएको छ । आफूहरुका  माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी रहने गठबन्धनले जनाएको छ । आइतबार सिंहदरबार घेराउ कार्यक्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै गठबन्धनका नेता अशोक राई, गोपाल दहित, मगरातका नवीन रोक्का, नेवा देय् दबूःका अध्यक्ष नरेश ताम्राकारलगायतले माग पूरा नभएसम्म काठमाडौँ केन्द्रित आन्दोलन जारी रहने बताए ।

सिंहदरबार घेराउ कार्यक्रमले आइतबार राजधानीको जनजीवन अस्तव्यस्त बन्यो । सर्वसाधारणले सास्ती भोगे । यातायात दिनभर अस्तव्यस्त बन्दा आवत जावतमा निकै नै कष्टकर बन्यो ।  बिहान नौ बजेदेखि बेलुकी ५ बजेसम्म सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलामा २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताले धर्ना दिए ।
उनीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै सिंहदरबार आसपासको सुरक्षा व्यवस्था निकै नै कडा पारिएको थियो । बाक्लो रुपमा सुरक्षाकर्मी (सशस्त्र प्रहरी र नेपाल प्रहरी)को तैथान गरिएको थियो । बाक्लो सुरक्षाका वाबजुत पनि आन्दोलनकारीले माइतिघर एउटा सरकारी भ्यान तोडफोड गरे । केहीबेर माइतीघरमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो ।
गठबन्धनका नेता तथा कार्यकर्ताले झण्डासहित नारा लगाई दिनभर चर्को घामको कुनै प्रवाह नगरी धर्ना दिए । धर्नामा गठबन्धनका नेता उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल, राजकिशोर यादव, अशोक राई, अनिल झा, परशुराम तामाङ, कुमार लिङ्देन, कुमार राई, वृशेषचन्द्र लाललगायत सहभागी थिए ।

तराई मधेस लोकतान्त्रिक पार्टीका महासचिव सर्वेन्द्रनाथ शुक्ल संविधानमा भएका त्रुटि हटाएर संविधान संशोधन नगरेसम्म आन्दोलन जारी रहने बताए । गत असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि प्रदेश सीमाङ्कनको विषयलाई लिएर असन्तुष्ट मधेस केन्द्रित दलले सुरुमा नेपाल–भारत सिमानामा आन्दोलन गरेका थिए । सिमानाको आन्दोलनले अत्यावश्यक वस्तुको आपूर्तिमा असहज भयो ।