राजनीति

दमन गरिए गृहयुद्ध निम्तिन्छः यादव

काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलनमा सरकारले दमन गर्न खोजे गृहयुद्ध निम्तिने चेतावनी दिएको छ । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले भने, ‘राज्यले आतंक सिर्जना गर्न खोजेको छ । यदि दमन गरेमा गृहयुद्ध निम्तिन सक्छ ।’
सरकारसँग विगतमा पटक-पटक वार्ता भएपनि सरकारले माग सम्बोधनका लागि कुनै चासो नदिएकाले फेरि पनि वार्तामा बस्नुको कुनै औचित्य नभएको यादवले प्रष्ट्याए । मोर्चाले शनिबार दिउँसो तीन बजे शान्तिबाटीका र रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी गरेको छ । त्यस्तै, आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरेको छ ।  मोर्चाको आन्दोलनलाई लक्षित गरी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था व्यवस्था कडा बनाएको छ ।

कार्यक्रममा तमलोपाका सहअध्यक्ष हृदयश त्रिपाठीले सरकारले मधेसी मोर्चालाई फुटाउन खोजेको भन्दै मधेसी मोर्चामा कुनै विवाद नरहेको दाबी गरे । मधेसी समुदायका माग सम्बोधनका लागि सबै एक भएर आन्दोलनमा होमिएको उनको तर्क थियो ।