राजनीति

बादललाई उपाध्यक्ष बनाउने सहमति

काठमाडौं । नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य एमाओवादीमा नफर्किने पक्का भएपछि महासचिव रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष बनाउने सहमति भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि वैद्य र सीपी गजुरेल एमाओवादीमा फिर्ता नजाने पक्का भएपछि नेकपा क्रान्तिकारीका महासचिव बादललाई उपाध्यक्ष बनाउने सहमति भएको हो ।

बादलसँगै देव गुरुङलाई पनि उपाध्यक्ष बनाउने या सचिवमा नै राख्ने भन्नेमा एमाओवादीभित्र अझै सहमति जुटिसकेको छैन । महासचिव पद बढाउन नमिल्ने भएकाले सचिव या उपाध्यक्षको संख्या बढाउने बारेमा एमाओवादीमा छलफल भइरहेको छ ।

वैद्यको साथमै रहेका नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलले पनि बिहीबार काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा एमाओवादीले संसद र सरकार दुबै नछाडेसम्म कुनै पनि हालतमा पार्टी एकता हुन नसक्ने दाबी गरे ।

उनले विगतमा पनि सहमतिको नजिक रहे पनि एमाओवादीकै नीतिका कारण सहमति हुन नसकेको बताए । गजुरेलले महासचिव बादलले एमाओवादीसँग एकता नभई आत्मसमर्पण गरेको आरोप समेत लगाए ।