राजनीति

‘ओली सरकारको नीति तथा कार्यक्रम नै म्यादी !’

काडमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको  नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ ।  आइतबार प्रस्तुत संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७।७४ को नीति तथा कायक्रममाथि मंगलबारदेखि  छलफल सुरु भएको हो ।

मंगलबारबाट सुरुभएको छलफलमा सांसदहरु दुई पक्षमा विभाजित भएका छन् । सत्तापक्षीय सांसदहरुले नीति तथा कार्यक्रमको समर्थनमा उभिएका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका केही दलहरुले म्यादी सरकाको नीति तथा कार्यक्रम म्यादी नै भएको भन्दै आलोचना गर्न थालेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने म्यादी सरकारको नीति तथा कार्यक्रम पनि म्यादी नै हुने भन्दै कार्यान्वयन हुनै नसक्ने दाबी गरेको छ । मंगलबारबाट शुरु भएको नीति तथा कार्यक्रमाथिको छलफलको शुरुमै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सत्तारुढ दलका नेताले नै सरकारलाई म्यादी भनेकाले बजेट कार्यान्वयनमा शंका रहेको बताए । उनले बजेटपछि सरकार फेरीने विषय सत्तारुढ दलकै नेताले राख्दै आएको भन्दै सरकारले घोषणा गरेको एक दशकको कार्यक्रम कार्यान्वयन हुन नसक्ने दाबी गरे ।

नेता देउवाले मंसीरमा स्थानीय निकायको चुनाव गर्ने, फाष्ट ट्रयाक स्वदेशी लगानीमा बनाउने लगायतका विषय नीति तथा कार्यक्रममा राखिए पनि त्यसको कार्यान्वयन पक्ष पनि केही पनि नदेखिएको औल्याए । उनले कालोबजारी नियन्त्रण, मधेशी मोर्चासँगको वार्ता लगायतका विषयमा सरकारको ध्यान जान नसकेको भन्दै गम्भिर बन्न समेत सुझाव दिए ।

तर, सत्तारुढ दलका सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगत १७ वर्ष देखि हुन नसकेको स्थानीय निकायको चुनाव, क्रान्तिकारी भूमिसुधारजस्ता विषय नीति तथा कार्यक्रममा पर्नु सकारात्मक रहेको बताए । सांसदहरुले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यतालिका रहको छ ।