राजनीति

नेतृत्वमा पुगेपछि विधानका कुरा विर्सिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीविधि र विधान अटेर गर्न थालेका छन् । १३ औँ महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि बढाएका छैनन् ।
पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीका साथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नु पर्ने उल्लेख भएपछि अहिलेसम्म विभाग र समितिलाई पूर्णता दिन नसक्नुले सभापति देउवाले विधान विपरीत कदम चाल्न थालेको प्रष्ट हुन थालेको छ ।
फागुन २४ गते सभापति निर्वाचित भएका देउवाले सबै निकायलाई पूर्णता होइन, त्यसको प्रक्रियासमेत सुरु गरेका छैनन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधानअनुसार पदाधिकारीका साथै सबै निकायलाई पूर्णता दिइसक्नु पर्ने भएपनि सभापतिको ध्यान त्यतातिर पुग्न नसकेको बताए ।
नेतृत्वमा नपुगुन्जेल विधानको कुरा गर्ने र आफैँ नेतृत्वमा पुगेपछि विधान मिच्नु राम्रो नभएको कांग्रेस नेताहरुको भनाइ छ । सभापतिको औपचारिक जिम्मेवारी सम्हालेकै दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनको गृहकार्य सूर गरेका छैनन् ।  त्यस्तै, बाँकी १४ केन्द्रीय सदस्य मनोनयन, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनको गृहकार्य सुरु भएको छैन ।

विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ ।  केन्द्रीय सदस्य प्रकाशशरण महतले पदाधिकारीसहित सबै निकायले छिट्टै पूर्णता पाउने बताउँदै आएका छन् ।