राजनीति

प्रचण्डपुत्र प्रकाश र महासचिव महराको नाममा नारायणकाजीको कैंची

काठमाडौं। एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जाने सूचीबाट महासचिव कृष्णबहादुर महरा र अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको नाम हटाइदिएका छन् ।

अन्तर्राष्ट्रिय विभागका इन्चार्जसमेत रहेका श्रेष्ठले असन्तुष्टिपछि चिनियाँ कम्युनिस्ट पार्टी र काठमाडौंस्थित चिनियाँ दूतावासले पठाएको पत्रलाई हेरफेर गर्न लगाएर महासचिव महरा र प्रकाशको नाम चीन जाने सूचीबाट हटाइएको स्रोतले बतायो । स्रोतका अनुसार हालै मभारत भ्रमणबाट फर्किएका महरालाई चीनले नाम नै किटेर निमन्त्रणा गर्नुलाई एमाओवादीले अर्थपूर्ण रुपमा लिएका कारण उनको नाम सूचीबाट हटाइएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ दूतावासको राजनीतिक डेक्समार्फत पठाएको निमन्त्रणापत्रमा महरा, प्रकाश र एकजना पत्रकारसहित १५ जनालाई चीन भ्रमणमा पठाइदिन आग्रह गरिएको थियो ।

त्यस्तो पत्र प्राप्त गरेपछि पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले चिनियाँ राजदूत ऊ चुन्ताईलाई आफ्नै निवास लतिलपुरको हिरिसिद्धीमा बोलाएर चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको पत्र उपयुक्त नरहेको भन्दै सच्याएर अर्को पत्र पठाउन आग्रह गरेका थिए ।

कुनै नेता र कुनै नेताका छोराको नाम किटेर बोलाउने तरिका ठीक होइन, श्रेष्ठले राजदूतसँग भनेका थिए । पार्टीको अन्तर्राष्ट्रिय विभागका एक सदस्यका अनुसार व्यक्तिको नाम तोकेर आएको निमन्त्रणपत्रलाई एमाओवादी नेतृत्वले अस्वभाविक ठानेको छ ।