राजनीति

९ बुँदे सहमतिसँगै मन्त्री फेर्ने गृहकार्यमा एमाओवादी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने निर्णय फिर्ता लिएर एमालेसँग नौं बुँदे सहमति गरेको एकीकृत नेकपा माओवादीले सरकारमा सहभागि मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी थालेको छ ।
पदाधिकारीले गरेको निर्णयले सिंगो पार्टीभित्रबाट चर्को आलोचना भइरहेको बेला एमाओवादीले मन्त्री परिवर्तन गर्ने गृहकार्य गरेको हो। सात महिना बितिसक्दासमेत सरकारमा सहभागी ८ मन्त्रीहरुले जनताको समस्यालाई सम्बोधन गर्ने गरि काम गर्न नसकेको भन्दै फिर्ता बोलाउने तयारी भइरहेको एक नेताले दाबी गरे । यस अघिदेखि नै सरकारमा सहभागी मन्त्रीहरुको कार्यसम्पादनका विषयमा कुरा उठ्दै आएको थियो ।

यसैबीच, गत विहीबार राति सत्तारुढ दुई मुख्य दल नेकपा एमाले र एनेकपा माओवादीबीच बालुवाटारमा सम्पन्न ९ बुँदे लिखित सहमतिबाहेक नेताहरुबीच सत्ता हस्तान्तरणबारे भद्र सहमति भएको भनेर बाहिर चर्चा चलेको छ । नीति–कार्यक्रम र बजेटपछि केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भनी चलेको चर्चालाई एमालेका नेताहरुले अस्वीकार गरेका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले नेता विष्णु रिमालले नौ बुँदे सहमति बाहेक सत्ता हस्तान्तरणका अरु कुनैखाले सहमति नभएको दावी गरेका छन् ।

लिखित समझदारीपत्रको पहिलो बुँदामा राष्ट्रिय सहमतिबारे उल्लेख भए पनि अमूर्त कुरा गरिएको छ । एमाओवादीका लागि यही बुँदा आशाको त्यान्द्रो हुनसक्छ । एमाओवादीका नेता तथा कृषि मन्त्री हरिवोल गजुरेलले सत्ता हस्तान्तरणबारे ठोस खालको सहमति नभए पनि राष्ट्रिय सहमतिको सरकार निर्माणमा एमाले सकारात्मक रहेको बताएका छन् ।
मौखिक कुराकानीलाई आधार मान्दा एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सकारात्मक भूमिका खेल्ने आफ्नो पार्टीको विश्वास रहेको गजुरेलको भनाई छ ।  गजुरेलले राष्ट्रिय सहमतिको सरकारका विषयमा एमाले र एमाओवादी मात्रैले सहमति गरेर नहुने बताए ।

दुई दलबीच ९ बुँदे सहमतिपछि वर्तमान सरकारप्रति एमाओवादीको असझदारी र संशयहरु हटेको व्याख्या एमाले नेताहरुले गरेका छन् । तर एमाओवादीका नेताहरुले भने लिखित रुपमै सहमति उल्लेख नगरेपनि बजेट पारित लगत्तै पुष्पकमल दाहाललाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको दावी गरेका छन् । सहमतिमा हस्ताक्षरकर्ता दुई दलबीच फरक–फरक धारणा आउनुले वर्तमान सरकारको आयु त्यसै पनि लामो नभएको विश्लेषण हुन थालेको छ ।