राजनीति

‘मधेसका मुद्दा सम्बोधन नभए देश अराजकतातिर’: डा.बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री  एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेशका मुद्धा सम्बोधन नगरिए देश अराजकतातिर दाबी गरेका छन् ।

नयाँ शक्ति नेपाल चितवनले शनिवार भरतपुरमा आयोजना गरेको आमसभामा भट्टराईले सविधान संशोधन गरेर तराई मधेशका मुद्धा सम्बोधन नगरिए देश अराजकतातिर जाने दाबी गरेका हुन्  ।  मधेसको मुद्धासँगसँगै निर्वाचन प्रणाली र शासकीय स्वरुपमा संशोधन गर्दै व्यवस्थापिका संसदको अन्त्य गर्दै नयाँ निर्वाचनमा जानुपर्ने उनले धारणा राखे ।

त्यस्तै उनले पुराना शक्तिहरुले कुर्सीका लागि हानाथाप गरिरहेको बताएका छन् । लोकतन्त्र बचाउन नसकिए अहिले जस्तै नेताहरुको सत्ताको लोभ, कुर्सीको लुछाचुँडी गरेर बसे देश अराजकतातिर लम्कने उल्लेख गरे ।

उनले प्राप्त लोकतन्त्र पनि नेताहरुले गुमाउने त होइनन् भन्ने जनमानसमा चिन्ता उत्पन्न भएको जिकिर गरे । उनले नेताहरुले जानेरै देशलाई अराजकतातर्फ उन्मुख गराई विदेशी हस्तक्षेप गराई मुलुकलाई प्रतिगमनतर्फ फर्काउन लागिपरेको आरोप लगाए ।

यस्तै नयाँ शक्ति नेपालका सचिवालय सदस्य मुमाराम खनालले एक लाख पार्टी सदस्यको प्रयासमा नयाँ शक्तिलाई आगामी निर्वाचनमा देशको पहिलो शक्ति बनाइने दाबी गरे ।