राजनीति

एमाले र एमाओवादी ९ बुँदे सहमति

काठमाडौं । सत्तारुढ नेकपा एमाले र एमाओवादी गठबन्धनबीच ९ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ एमाले र एमाओवादीबीच एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले ९ बुँदे समझदारी गर्दै सत्ता गठबन्धनलाई निरन्तरता दिएका हुन् । सहमतिका अधिकाशं बुँदा शान्ति प्रक्रियासँग सम्बन्धित रहेका छन् ।
जसअन्तर्गत संक्रमणकालीन न्याय सम्बन्धि कार्य अगाडि बढाउन १५ दिनको मिति समेत तय गरिएको छ । सहमतिको पहिलो बुँदामा भने संविधान कार्यान्वयन र सामाजिक आर्थिक परिवर्तनका लागि अनुकूल वातावरण श्रृजना गर्न राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने उल्लेख गरिएको छ । त्यसैगरी, संघीयता लगायतका विषयमा मधेशकेन्द्रित दलहरुले उठाएका विषयमा छलफल गरी राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउने जनाइएको छ । त्यस्तै, सरकारको नियुक्ति र महत्वपूर्ण निर्णयमा निरन्तर संवाद गर्ने तथा  भूकम्प पछिको पुनर्निर्माणमा स्वयमसेवक परिचालन गर्ने  र पुनर्निर्माणलाई द्रुत गतिमा अगाडि बढाउने सहमति पत्रमा उल्लेख गरिएको छ ।