राजनीति

दलीय भागवण्डामा राजदूत सिफारिस !

काठमाडौं, । सरकारले २१ मुलुकका लागि राजदूत नियुक्तीको सिफारिस गरेको छ । बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दलीय भागवण्डामा राजदूत सिफारिसको निर्णय गरेको हो । सिफारिस हुनेमा राजनीतिक दलबाट १३, परराष्ट्र मन्त्रालयका कर्मचारीबाट ८ र केही प्राध्यापक छन् । राजनीतिक दलबाट एमालेबाट ६ जना, एमाओवादीबाट ४ जना र राप्रपा नेपालका ३ जना छन् । 

राजदूतका लागि सिफारिस हुनेमा चीनका लागि महेन्द्रबहादुर पाण्डे, दक्षिण कोरियाका लागि युवराज कार्की, इजरायलका लागि शिवमाया तुम्बाहाम्फे र श्रीलंकाका लागि नारद वाग्ले हुनुहुन्छ । त्यस्तै, कतारका लागि डाक्टर महेन्द्रबहादुर सिंह, अष्ट्रेलियाका लागि लक्की शेर्पा, रसियाका लागि निरन्जन थापा सिफारिसमा पर्नुभएको छ । त्यसैगरी, दुवसु क्षेत्री बेलायत, प्रकाश सुवेदी अष्ट्रिया, रमेशप्रसाद खनाल जर्मनी, झविन्द्र अर्याल इजिप्ट, सेवा लम्साल अधिकारी पाकिस्तान र लोकबहादुर थापा बेल्जियमका लागि राजदूतमा सिफारिस हुनुभएको छ । 

त्यस्तै, बंगलादेशका लागि खगेन्द्र बस्नेत, यूएईका लागि भरतबहादुर रायमाझी, म्यानमारका लागि ऋषिराम घिमिरे, बहराइनका लागि पदम सुन्दास र ब्राजिलका लागि ताराप्रसाद पोख्रेल सिफारिसमा पर्नुभएको छ । डेनमार्कका लागि युगनाथ लम्साल, जापानका लागि खड्क केसी, समेत सिफारिसमा हुनुहुन्छ । त्यस्तै, सरकारले संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले साहित्यकार झमककुमारी घिमिरेलाई मासिक २५ हजार आजीवन भत्ता दिने पनि निर्णय गरेको छ । त्यसैगरी, भूकम्पबाट पूर्ण क्षति भएका घर पुनर्निर्माण गर्दा नक्सा पास गराउँदा लाग्ने शुल्कमा छुट दिने निर्णय पनि सरकारले गरेको छ । सरकारले भूकम्पप्रभावित १९ जिल्ला तथा डडेलधुरा र दैलेखमा काठ पैदावारका लागि जिल्ला वन पैदावार आपूर्ति समिति गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, बैठकले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचन तथा निवार्चन ऐनसम्बन्धी आवश्यक कानुन बनाउने बाटो खुला गरिदिएको छ । मन्त्रिपरिषदले राजपत्र अनंकित विशिष्ट श्रेणी तथा प्रथम श्रेणीका कर्मचारीको बढुवा सरुवा तथा पदस्थापन गरेको छ । 

 

सिफारिस भएका व्यक्तिहरू कसको कोटाबाट 

एमाले कोटाबाट

नारद भारद्वाज– श्रीलंका,

शिबमाया तुम्बाहम्फे– इजरायल,

अलि अख्तर मिकरानी– साउदी अरव,

खड्ग केसी– जापान,

महेन्द्रबहादुर पाण्डे– चीन

युवराज कार्की– दक्षिण कोरिया

एमाओवादी कोटाबाट

युवनाथ लम्साल– डेनमार्क

लक्की शेर्पा– अष्ट्रेलिया

पदम सुन्दास– बहराइन

डा. महेन्द्र सिंह– कतार

राप्रपा नेपालको कोटाबाट

निरञ्जन थापा– रसिया

भरतबहादुर रायमाझी– यूएई

खगेन्द्र बस्नेत- बंगलादेश

परराष्ट्रका कर्मचारी मध्येबाट

ताराप्रसाद पोखरेल– ब्राजिल

रमेशप्रसाद खनाल– जर्मनी

प्रकाशकुमार सुवेदी– अष्ट्रिया

लोकबहादुर थापा– बेल्जियम

सेवा लम्साल– पाकिस्तान

झविन्द्र अर्याल– इजिप्ट

ऋषिकेष घिमिरे– म्यानमार

दुर्गाबहादुर क्षेत्री – बेलायत