राजनीति

मुलुकको विकास नहुनुमा कारक भ्रष्टाचारः नेपाल

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपा एमालेका नेता माधवकुमार नेपालले मन्त्रीदेखि सचिव हुँदै विभागीय प्रमुखहरु  भ्रष्टाचारमा चुर्लुम्म डुब्ने गरेका कारण मुलुकको विकास पछाडि परेको बताएका छन्।

एमाले नेता नेपालले शनिबार काठमाडौमा राष्ट्रिय जागरण महाअभियानको शुभारम्भ गर्दै विकास निर्माणका काममा हुने भ्रष्ट्राचारमा इन्जिनियरदेखि विभागीय प्रमुख र सचिव हुँदै मन्त्रीहरुको संलग्नता हुने बताएका हुन्।

एमाले नेता नेपालले आफू प्रधानमन्त्री रहेका बखत मुग्लिन पुल जीर्ण भएको समाचार आएपछि निरीक्षण गरेर एक महिनाभित्र मर्मत सम्भारका लागि निर्देशन दिएको र एक महिनापछि मर्मत सम्भारका बारेमा जानकारी माग्दा भौतिक योजना मन्त्रालयका सचिवले सिन्को नै नभाँचेको अवस्थामा पनि मर्मत सम्भार सम्पन्न भएको गलत प्रतिवेदन दिएको बताए।

उनले गलत प्रतिवेदन बुझाएर भ्रष्ट्राचारका लागि मन्त्रीले सचिव र सचिवले विभागीय प्रमुखको संरक्षण गर्ने गरेको बताए।

एमाले नेता नेपालले मन्त्री र सचिवको संरक्षणमा नै भ्रष्ट्राचार हुने भएकाले उनीहरुलाई समाउने संयन्त्र नबनाएसम्म भ्रष्ट्राचार नियन्त्रणको कुरा गफमा मात्र सीमित हुने बताए।