खेलकुद

चौराहाले जित्यो धनगढी क्रिकेट लिगको उपाधि

कैलाली । स्टार खेलाडी भुवन कार्कीको उत्कृृष्ट प्रदर्शनले चौराहाले धनगढी क्रिकेट लिगको उपाधि उचालेको छ । सुपर ओभरमा सीवाईसी अत्तरियालाई पराजित गरी चौराहाले उपाधि जितेको हो । जितसंगै टिम चौराहाले नगद तीन लाख पुरस्कार सहित ट्रफी उचालेको छ । उपविजेता अत्तरियाले नगद एक लाख ५० हजार पुरस्कारमा चित्त बुझाएको छ ।
हजारौं दर्शककाबीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले निर्धारित ओभरमा समान १ सय ४६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरको सुरुमा ब्याटिङ्ग गरेको अत्तरियाका विनोद भण्डारीलाई टिम चौराहाका तीव्र गतिको बलर योगेन्द्रसिंह कार्कीले पहिलो बलमै क्लिन बोल्ड गरे । विनोद आउट भएपछि महबुब आलमलाई साथ दिन आएका प्रेम तामाङ्ग पनि पाँचौ बलमा रन आउट भएपछि अत्तरियाले तीन रनमात्रै बनाउन सक्यो ।
चार रनको विजयी लक्ष्य पाएको टिम चौराहाका लागि भुवन कार्कीले दोस्रो बलमा नै आफ्नो टिमलाई जित दिलाउन सफल भए । महबुब आलमले फालेको पहिलो बल डट खेलेका कार्कीले दोस्रो बलमा चौका प्रहार गर्दै टीम चौराहालाई विजयी बनाए ।
यसअघि, सेती अञ्चल प्रहरी मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरेको टिम चौराहाले निर्धारित २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । दीपेन्द्र थापाले ३७, योगेन्द्रसिंह कार्कीले २६ र विपिन रावलले २० रनको योगदान गरेक थिए । त्यस्तै, अत्तरियाका लागि सुरेन्द्र चन्दले २० रन खर्चेर सवार्धिक चार विकेट झारेका थिए त्यस्तै अत्तरियाका प्रेम तामाङ्गले दुई, कप्तान महबुब आलम र ज्ञानेन्द्र कुँवरले समान एक÷एक विकेट लिन सफल भएका थिए ।
१ सय ४७ रनको लक्ष्य विजयी लक्ष्य पछ्याउन मैदानमा उत्रेको अत्तरियाले निर्धारित २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १ सय ४६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । अत्तरियाका लागि प्रारम्भिक ब्याट्सम्यान प्रेम तामाङ्गले अर्धशतक पूरा गरे उनले ५४ बलको सामना गर्दै ६३ रन बनाएका थिए त्यस्तै महबुब आलमले ३३ र नरेश बोहराले नटआउट १७ रनको योगदान दिएका थिए ।