प्रवास

ब्रसेल्स घटनापछि युरोपको नेपाली समुदाय

बेल्जियमको राजधानी ब्रसल्समा भएका तीन विष्फोटन परी मंगलबार सर्बसाधारणले ज्यान गुमाए। जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थल र मालबेक मेट्रो स्टेशनमा भएका छुट्टाछुट्टै बिस्फोटमा परी ३४ बढीको ज्यान गयो भने सयौ घाईते भएका छन्।

गत नोभेम्बरमा भएको प्यारीस हमलाका एक मुख्य आरोपी सलाह अब्देसलामलाई ब्रसल्समा पक्राउ परेको चारदिनपछि यी विष्फोटका घटनाहरु हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पेरिस हमलाको योजना पनि बेल्जियममा नै बन्नु,त्यसको केहि महिना पछि बेल्जियमको बिमानस्थल जस्तो संबेदनशील क्षेत्रमा बिष्फोट भए पछि युरोपमा आतंककारी त्रास बढेको छ।

घटना पछि बेल्जियमको नेपाली समुदाय
बेल्जियममा भएका तीन बटा बिष्फोटका घटनामा अहिले सम्म प्राप्त सुचना अनुसार, कुनै पनि नेपाली नपरेको बताईन्छ। बेल्जियम स्थित नेपाली राजदुताबास,गैर आबासीय नेपाली संघ (एनआरएनए) लगायत नेपाली संघ संस्थालाई, कुनै पनि नेपाली घटनामा परेको बारे जानकारी छैन। अहिले सम्म सबै नेपालीहरु सुरक्षित भन्ने आधार पनि यहिँ नै हो।

तर बिमानस्थल तथा मेट्रो स्टेशनमा भएका घटनाहरुमा मृतक हुने तथा घाईतेहरु बारे प्रष्ट जानकारी नहुँदा अझै ढुक्क हुने अबस्था भने देखिन्न। बेल्जियममा बसोबास गर्दै आएका नेपालीहरुलाई मात्र आधार नमानी, युरोपका अन्य मुलुकहरु बेल्जियम घुम्न गएका वा बिभिन्न काम बिशेषले युरोप बाहेक अन्य मुलुकहरुबाट सिधै बेल्जियम आउँने कोहिँ नेपालीहरु थिए वा थिएनन् त्यता तिर पनि ध्यान दिन जरूरी छ।

बिष्फोट हुँदा दुई नेपाली बिमानस्थलमा नै
अहिले सम्म प्राप्त जानकारी अनुसार बिस्फोटको घटना हुँदा दुई जना नेपालीहरू मात्र सोही बिमानस्थलमा नै थिए। नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष चित्र सुबेदी नेपालबाट आउँदै थिए भने उनलाई लिन बेल्जियम निबासी कृष्ण प्रसाद रेग्मी बिमानस्थल पुगेका थिए।

घटनालाई प्रत्यक्ष रुपमा देखेको बताउँदै आएका उनीहरु भाग्यले बाँचेको बताउँछन्। लिफ्टमा हुँदै गर्दा बिष्फोटको आबाज सुनेको उनीहरुको भनाई सार्बजनिक भएको छ।

युरोपमा खतराको घण्टी
इस्लामिक स्टेट नामक अतिवादी संगठनले पेरिस आक्रमण गरे पछि नै युरोपको सुरक्षा ब्यबस्थालाई लिएर चौतर्फी चासो बढेको थियो। युरोपको राजधानीको रुपमा चिनिने, बेल्जियम त्यस माथि पनि विमानस्थल जस्तो संबेदनशील क्षेत्रमा भएका बिष्फोटका घटनाले सबैलाई चिन्तित र त्रसित बनाएको छ।

आतंककारी हमाला जहाँ जुन बेला पनि हुन सक्ने हुँदा, युरोपको सुरक्षा ब्यबस्था भने बलियो र कसिलो पार्नु पर्ने देखिन्छ। पुन: बिस्फोट हुने भन्दै समाजिक संजालमा हुने गरेका हल्लाहरुले पनि सर्बसाधारणलाई झनै त्रसित बनाएको पाईन्छ।

यद्दपी सार्बजनिक स्थल, भिडभाड भएका ठाउँहरुमा जाँदा सजक रहन पनि जरूरी छ। पेरिस र ब्रसेल्स पछि युरोपका जुन सुकै शहरमा पनि बिस्फोटका घटना हुन सक्ने हुँदा,त्रास र डर लिएर भन्दा पनि सजक भएर हिड्दा उपयुक्त देखिन्छ।

सरकारी नीति प्रति टिप्पणी
ब्रसेल्स घटना पछि बिभिन्न मुलुकहरुले आफ्ना देशका नागरिकको सुरक्षा प्रति देखाएको चासोलाई नजिकबाट नियालेको युरोपको नेपाली समुदायले नेपाल सरकारले देखाउँनु पर्ने चासो र नीति प्रति टिप्पणी गरेका छन्।

विदेशमा यस्ता घटनाहरु घट्दा आफ्ना नागरिकलाई कसरी सुरक्षित गर्ने वा घटनामा परे परेनन् यो बारे जान्ने कुनै प्राबिधिक संयन्त्र नभएको प्रति नेपालीहरुले टिप्पणी गरेका हुन्।

प्राय: घटना भए पछि दुख ब्यक्त गर्दै बिज्ञप्ति निकाल्ने र अप्ठारो परे सम्पर्क गर्नुहोस् मात्र भनेर,जिम्मेबारी पुरा नहुने भन्दै चासो देखाएका छन्।