राजनीति

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने

काठमाडाैं, १० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ मा दुई दिने नेपाल भ्रमणका लागि आउने भएका छन्। भारतले सिफारिस गरेको भ्रमण मितिलाई प्रधामन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेपछि मोदीको भ्रमण मिति निश्चित भएको हो।
भारतले आफूअनुकूल भ्रमणको मिति तय गरे पनि प्रधानमन्त्री ओलीले त्यसलाई अनुमोदन गरेका छन्। नेपालले मोदीलाई जेठ ११ मा नेपाल ल्याउने गरी तयारी थाले पनि अन्तिम समयमा आएर भारतले नयाँ मिति प्रस्ताव गरेको र प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकृति प्रदान गरेका हुन्।
वैशाखको अन्तिममा प्रधानमन्त्री ओलीले चीनको भ्रमण गर्ने तयारी भए पनि मोदीको भ्रमणका कारण त्यो पर सर्ने निश्चित जस्तै भएको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई पर सार्ने गरी भारतले नयाँ मिति प्रस्ताव गरेपछि प्रधानमन्त्री अफ्ठ्यारोमा परेको प्रधानमन्त्री नकट एक स्रोतले नेपाल खबरलाई बताए। ‘चीन भ्रमणको मिति तय भएको थिएन, त्यही बीचमा नै भारतीय प्रधामनत्री आउने प्रस्ताव आयो’, स्रोतले भन्यो।
भ्रमणको औपचारिक घोषणा हुन बाँकी रहे पनि लगभग वैशाख २८ मै भ्रमण हुने निश्चित प्रयाः छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर समेत जाने कार्यक्रम रहेको छ। मोदी प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल आउन लागेका हुन्।