राजनीति

कांग्रेसमा आत्मसमीक्षा होइन, आरोप–प्रत्यारोप

काठमाडाैं, १० बैशाख । कांग्रेस बैठकमा निर्वाचनमा पराजयको दोष एक–अर्कालाई थोपर्ने गरी बहस जारी छ । लामो समय स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि आरोप–प्रत्यारोपमै सीमित भयो । ९ चैतबाट सुरु भएको समीक्षा बैठक केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि १६ चैतमा स्थगित भएको थियो ।

आइतबार धारणा राख्ने ६ केन्द्रीय सदस्यमध्ये कुलबहादुर गुरुङ र प्रदीप पौडेलले सभापतिदेखि पार्टीको समग्र कार्यशैली प्रभावकारी नहुँदा निर्वाचनमा पराजित हुनु परेको तर्क गरे । देवेन्द्रराज कँडेल, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने र बहादुरसिंह लामाले पार्टी पराजित हुनुमा टिकट बाँड्ने संसदीय समितिमा बस्ने सबै दोषी रहेको भन्दै सभापति शेरबहादुर देउवाको बचाउ गरे ।

विश्वकर्माले टिकट लाँदा अंशवन्डा जसरी लगेकाले अहिले विरोध गर्न नसुहाउने बताए । ‘निर्वाचनमा पराजित भएपछि सभापतिलाई मात्र दोष थोपर्न खोजिएको छ,’ उनले भने, ‘टिकट बाँड्ने बेला अंशवन्डा गरे जसरी गर्ने अनि अहिले दोष सभापतिलाई मात्र दिन मिल्दैन ।’

समीक्षा बैठक सोमबार बिहान साढे ८ बजे बस्ने गरी डाकिएको छ । अब बढीमा दुई दिनसम्ममा चुनावी समीक्षा बैठक सकाउने तयारी देउवाको छ । सोमबारको बैठकमा युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, कल्याण गुरुङ, नविन्द्रराज जोशीसहितका नेताले लिखित प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।, यो खबर आजको नया पत्रिकामा छ ।