राजनीति

नेपाल आउनुअघि मोदी चीन जाँदै

काठमाडाैं, ९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुअघि चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनीयाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणमा भारतीय प्रधानमन्त्री मोदी २ दिने भ्रमणका लागि आगामी साता चीन जाने तय भएको चिनीयाँ विदेश मन्त्री वाङ इले आज जानकारी दिएका हुन्।

भेटघाटका क्रममा दुई प्रमुख नेताबीच दोक्लाम विवादपछि चिसिएको भनिएको दुई देशको द्विपक्षीय सम्बन्ध सुदृढ गर्नमा मूख्य रुपमा छलफल हुने उनले बताए। आगामि अप्रिल २७ र २८(शुक्रबार र शनिबार) का लागि तय भएको भ्रमणमा दुई देशका राष्ट्रप्रमुखहबीच अनौपचारिक भेटघाट हुने समाचार संस्था पिटिआईले जनाएको छ।

भारतसहित ८ देश सदस्य रहेको सांघाई सहयोग संगठन(एससिओ)को भोलिबाट सुरु हुने २ दिने विदेश मन्त्रीहरुकाे सम्मेलनमा भाग लिन चीन गएकी भारतीय विदेश मन्त्री सुस्मा स्वराजसँगको छलफलपछि भ्रमणको मिति तय भएको विदेशमन्त्री वाङले बताए।

यसअघि मोदी आगामि वैशाख २८ मा नेपाल आउने तयारी थियो। नेपालको भ्रमण तय भएपछि अचानक मोदीको चीन भ्रमण तय हुनुलाई राजनीतिक वृतमा चासोका साथमा हेरिएको छ।

सन् २०१४ मा शक्तिमा आएपछि मोदीको यो चौथो चीन भ्रमण हुनेछ। यसअघि आगामि जुनमा हुने एससिओ सम्मेलनमा सम्बोधन गर्न प्रधानमन्त्री मोदी चीन जाने कार्यक्रम तय भएको थियो।

दोक्लाम विवादपछि गत डिसेम्बरमा चीनका विदेश मन्त्रीले भारतको भ्रमण गरेका थिए। सो क्रममा विदश मन्त्री वाङले भारतका प्रधानमन्त्री लगायतका शिर्ष नेताहरुसँग उच्चस्तरीय भेटघाट गरेका थिए।