राजनीति

प्रधानमन्त्री अाेली आजबाट भारत भ्रमणमा, यस्तो छ कार्यतालिका

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि भारतको ३ दिने राजकीय भ्रमणको जानुहुने भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री नेतृत्वको टोली दिल्ली जान लागेको हो । नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली जान लाग्नुभएको प्रधानमन्त्रीले आज उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले आजै नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ । भारतीय समकक्षी मोदी र ओलीबीच शनिबार मात्र औपचारिक भेटवार्ता हुनेछ । शनिबार बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नेछन् भने भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेसँगै भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग भेटवार्ता हुनेछ ।  भेटपछि राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै हैदरावाद हाउसमा शुरुवा दुई प्रधानमन्त्रीबीच एकालएक्लै भेटवार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलसहित औपचारिक छलफल हुरु हुनेछ ।

दुबै नेताले दिल्लीबाटै वीरगन्जमा रहेको एकीकृत, चेकपोस्टको उद्घाटन गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ । हैदरवाद हाउसमै दुई नेताको संयुक्त पत्रकार सम्मेलनसँगै सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्री लगायत अन्य भारतीय नेताहरुले पनि शनिबार नै भेट्ने कार्यक्रम रहेको छ । 

दिल्ली भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री ओली उत्तराखण्ड जाने कार्यक्रम छ । उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्दवल्लभ पन्त कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीलाई उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधि दिनेछ । प्रधानमन्त्री सोही दिन साँझ विशेष विमानमार्फत स्वदेश फर्किनेछन् । 

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायत छन् । विभिन्न दलका ९ जना सांसद र सरकारी अधिकारी सहित ३५ जना सरकारी भ्रमण टोली रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।