राजनीति

सोले शैलीमा गृहमन्त्रीले भने– ‘यहाँ त गब्बरका बाउ रहेछन्’

काठमाडौं, १९ चैत ।  गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिकिकरण कार्यक्रममा गृह मन्त्री रामबहादुर थापा ‘बादल’ले निकै नै व्यग्यांत्मक रुपमा प्रस्तुत भए । आफ्नो ३५ दिने कार्यअनुभव सुनाइरहँदा उनले प्रहरीदेखि कर्मचारीसम्मलाई व्यङ्ग्य गर्दै देशलाई तस्कर, माफिया र दलालहरुले बर्बाद गर्न खोजेको भन्दै तीव्र सुधार गर्ने बेला आइसकेको बताए ।
गुण्डागर्दी र अपराधको प्रसंग झिक्दै उनको अध्यागमन, जेलका जेलर, कैदी र प्रहरी अनुगमनको प्रसंग निकाले । सुरुमा चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती नै छिराइदिन्छु भनेका रहेछन् भन्दै अध्यागमनका कर्मचारी मानव तस्करीमा लागेको आरोप लगाए ।
काठमाडौंमा गुण्डाराज बढेको बताउँदै उनले चर्चित भारतीय फिल्म ‘सोले’को प्रसंग निकाले ।  जुन फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्रसँगै ‘गब्बर’ भन्ने पात्र थिए । ‘सोले’ मा गब्बर खतरनाक खलपात्रका रुपमा देखिएका छन् । मुलुकमा गुन्डागर्दी, बलात्कार बढेको भन्दै उनले भने–नेपालमा त सोलेका गब्बरका बाउहरु रहेछन्, उनीहरुलाई ठेगान लगाउनुपर्यो ।”
उनले भने, “जेलको एउटा गुन्डा मर्सिटिज कारमा हिँड्दो रहेछ, अर्कोलाई नेवारी खाजा मनपर्दो रहेछ,जेल त मिनी नेपालजस्तै रहेछ ।” उनले जेलर र प्रहरीकै मिलोमतोमा यस्तो हुने गरेको बताए । देशभरका कारागारमा रहेका गुन्डा नाइके र जेलरहरुको सरुवा गर्ने गृहमन्त्रीले बताए । उनले फेरि थपे, “जेलरहरु सरुवा हुनै मान्दैनन्, उनीहरु कारागारका गुन्डाहरुबाट हप्ता असुल्दा रहेछन् ।”
कैदीहरुलाई अब उत्पादनसँग जोड्नुपर्ने उनले बताए । देशभर अहिले ७४ कारागारमा १९ हजार कैदीबन्दी रहेको थापाले सुनाए । 
झण्डै डेढ घण्टा आक्रामक रुपमा बोलेका गृहमन्त्री थापाले मुलुकको शान्ति सुरक्षाको अवस्थामा वैज्ञानिक सुधारको आवश्यकता औंल्याए । पटक–पटक ‘रेडिकल चेन्ज’ शब्द प्रयोग गरेका गृहमन्त्री थापाले सीमा, विमानस्थल, अध्यागमन, यातायत क्षेत्र, तस्करी र अपराध नियन्त्रणलगायत क्षेत्रमा ठूलो धक्काको आवश्यतामा जोड दिए । सुरक्षा निकायका कमजोरीलाई अब क्षमा गर्न नसकिने बताउँदै उनले समयानुकूल सच्चिएर देश र जनताको पक्षमा दृढतापूर्वक लाग्न निर्देशन दिए । 
मुलुकमा माफियातन्त्र र तस्करी मौलाएको बताउँदै मन्त्री थापाले गृह मन्त्रालयले ठोस कार्यक्रम बनाएर विशेष प्रहार गर्ने बताए । तस्कर, कर्मचारी, राजनीतिक दलका केही नेताहरु मिलेर देश डुबाउन लागेको भन्दै उनले हरेक क्षेत्रका गलत पात्र र प्रवृत्तिविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत प्रतिबद्धता जनाए । 
‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिको लागि शान्तिसुरक्षा र सुशासन’को नारा दिँदै गृह मन्त्रालयले गृह प्रशासन योजना २०७४ सार्वजनिक गरेको छ । यो कार्ययोजना एक वर्षका लागि तयार पारिएको हो । खासगरी कार्ययोजनाका रणनीतिक उद्देश्यमा गृह प्रशासनका सबै अंगहरुको नतिजामुखी, वैज्ञानिक र राष्ट्रिय उद्देश्यका लागि परिचालन, सुुरक्षा निकायलाई क्षमतावान र प्रविधिमैत्री बनाउने, आपराधिक र अवाञ्छित गतिविधिको नियन्त्रणसँगै आन्तरिक सुरक्षा मजबुत बनाई राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सृदृढ गर्नेलगायत छन् ।