राजनीति

‘बराबरी सिद्धान्तका आधारमा पार्टी एकता’

काठमाडौं, १९ चैत ।  एकीकृत पार्टीमा दुई पक्षका नेताको व्यवस्थापन कसरी मिलाउने भन्नेमा एमाले–माओवादी एकताको गाँठो अल्झिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने धारणा अघि सारेका छन् । 
भरतपुर विमानस्थलमा  पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।” यसले पार्टी एकतामा अप्ठ्यारो पर्ने स्थिति नभएको बताउँदै उनले एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने स्पष्ट गरे। 
प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता सम्भव नभएको बताउँदै अध्यक्ष दाहालले कार्यदलले दिएको प्रतिवेदनअनुसार नै आगामी वैशाख ९ गते पार्टी एकता हुने ठोकुवा गरे। 
अध्यक्ष दाहालले मंगलबार पार्टी एकता संयोजन समितिको बैठकमा दुई वटै कार्यदलको प्रतिवेदन औपचारिक ढंगले प्रस्तुत हुने जानकारी दिँदै उनले संयोजन समितिमा मंगलबारदेखि नै प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि छलफल शुरु हुने बताए । 

दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा पार्टी संगठन हाँक्ने गरी दुई अध्यक्षात्मक प्रणालीको अन्तरिम विधान तयार भए पनि स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा पर्ने नेताको भागबन्डामा सहमति जुट्न सकेको छैन। एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गरी प्रस्ताव तयार पारेको छ। 

तर त्यसअनुसार केन्द्रीय समितिदेखि स्थायी समितिसम्म दुई पक्षका नेताहरूको व्यवस्थापन मिलाउन दुवै पार्टी अध्यक्षसामु चुनौती देखिएको छ।  दुई पार्टीबीच कार्यदलले प्रस्तावित गरेको केन्द्रीय समितिमा प्रतिनिधित्व कसरी गराउने भन्नेमै दुईथरी मत देखिएको छ।
एमालेले आफ्नो अहिले रहेका केन्द्रीय सदस्यलाई कायम राखी बाँकीमा माओवादीबाट थप गरेर जाने प्रस्ताव गरेको छ। तर, माओवादीले सम्मानजनक एकता बराबरीका आधारमा हुनुपर्ने तर्क अगाडि सारेको छ। एमालेको २०६ केन्द्रीय सदस्यमा पार्टी छोडेका, प्रदेश सभामुख बनेकालगायत नेतालाई अलग्याउँदा पनि अहिले दुई सयको केन्द्रीय समिति छ। उसले त्यसैमा माओवादीका ९९ जना नेतालाई समेटेर एकीकृत समिति बनाउने प्रस्ताव राखेको छ।
माओवादीले भने त्यस्तो आधारमा भागबन्डा नहुने बताएको छ। ‘पार्टी एकता सम्मानजनक रूपमा बराबरीमा आधारित भएर हुन्छ न कि प्रतिशतका आधारमा’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘यस विषयमा अब सचिवालय बैठकले निर्णय लिन्छ।’