राजनीति

'अब देशकाे विकास र समृद्धिका लागि एक होउँ'

काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिबाट पहिलो सम्बोधन भएको हो । 
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले तीनओटै तहका चुनाव सम्पन्न भएपछि देशले सङक्रमणको एक चरण पूरा गरेको बताइन् । सङक्रमणबाट अघि बढेर अब देश विकास र समृद्धिका लागि एक हुन उनले आह्वान पनि गरिन् । लोकतन्त्र मानिसको जीवन पद्धति र अनुभूत गर्ने विषय भएकाले जनताले जीवनस्तर सुधारको अनुभूति गर्न नसकेमा यो केवल खोक्रो नारा सावित हुने विचार उनले व्यक्त गरिन् । 
तीव्र गतिको समृद्धिको यात्रामा देशलाई अघि बढाउन उनले दुवै सदनका सांसदहरूलाई आह्वान पनि गरिन् ।  विकास र समृद्धिको यात्रामा छिमेकी राष्ट्रहरूको सम्बन्धलाई समन्वय गर्दै अघि बढ्न पनि राष्ट्रपति भण्डारीको सुझाव छ ।
पूर्ण लोकतान्त्रिक समृद्ध मुलुक बनाउन युवाको ऊर्जा अब देशकै लागि उपयोग हुनुपर्नेमा पनि राष्ट्रपतिको जोड छ ।
नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई दोश्रोपटक नवनिर्वाचित राष्ट्रपति भण्डारीले सम्बोधन गरेको यो पहिलो पटक हो । 
राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गरेका थिए । 
बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेका थिए । सम्बोधनपछि बैठक समाप्त हुने भएकाले आज अन्य कार्यसूची छैन । सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरु, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको थियो ।