राजनीति

मन्त्रालय संख्या अझै बढ्ने

काठमाडाैं, ४ चैत । ओलीले शुक्रबार सरकार विस्तार गर्दा भने संघीय समाजवादी फोरमलाई मात्रै सहभागी गराउने गरी दुई मन्त्रालय खाली राखेका छन् ।  प्रधानमन्त्रीले शुक्रबार ११ मन्त्री र ४ राज्यमन्त्री थपेपछि मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । फोरमलाई दुई मन्त्रालय र एक राज्यमन्त्री दिने अनौपचारिक सहमति छ । राजनीतिक सहमतिमा हस्ताक्षर नभई सरकारमा सहभागी नहुने अडान राखेका कारण शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा फोरम नपरेको हो । 
प्रधानमन्त्री केपी ओलीले सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राष्ट्रिय जनता पार्टी राजपा पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ ।
ओलीले मन्त्रिपरिषद् निर्णयबाट मुद्दा फिर्ता लिई सांसद चौधरीलाई रिहा गरिदिने आश्वासन दिँदै राजपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । 
प्रधानमन्त्रीको आश्वासनपछि नै सांसद चौधरीले शुक्रबार अनशन तोडेका थिए । त्यस क्रममा गृहमन्त्री रामबहादुर थापा र राजपा अध्यक्षमण्डलका सदस्यहरूसमेतको उपस्थिति थियो । सरकारमा जाने उद्देश्य राखेर नै राजपाले ओलीलाई संसद्मा विश्वासको मत दिएको थियो ।