राजनीति

सरकार विस्तारको तयारी काे काे बन्दैछन् मन्त्री ?

काठमाडाैं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकार विस्तारको तयारी गरेका छन् । नेकपा एमाले, माओवादी र संघीय समाजवादी फोरमबाट सरकारमा थप मन्त्री पठाउने तयारी छ ।
मन्त्रिपरिषद विस्तारकै विषयमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार पनि छलफल भएको थियो । एमालेबाट यसअघि प्रधानमन्त्रीसहित ४ जना सरकारमा सहभागी भइसकेका छन् । प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल लगायतका नेताको सम्भावना रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
नेकपा एमालेको यसअघि बसेको बैठकले मन्त्री छान्ने जिम्मा पनि अध्यक्ष ओलीलाई नै दिएको छ । सोहीअनुसार माओवादी केन्द्रले पनि मन्त्रीको टुंगो लगाउन भन्दै बैठक बोलाएको थियो ।
प्रवक्ता पम्फा भुसालकाअनुसार बैठकमा मन्त्री बन्ने व्यक्तिको विषयमा केन्द्रीत भएर छलफल भएको बताइन् ।  उनले सरकारमा को को सहभागी हुने भन्ने बारेमा यसअघि नै सामान्य छलफल र निर्णय भएको बताए पनि नाम भने बताउन चाहिनन् ।
स्रोतकाअनुसार जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, विना थापामगर, गिरिराजमणि पोखरेल लगायतका नेताको नाममा छलफल भएको छ । यसअघि रामबहादुर थापा बादल  गृहमन्त्रालय र मातृका यादव उद्योग मन्त्रीको जिम्मेवारी पाएका थिए । माओवादीलाई सातवटा मन्त्रालय भागवण्डामा परेको छ । 

फोरम नेपाल पनि आजै सरकारमा सहभागी हुने तयारीमा रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । तर को–को मन्त्री बनाउने सूची सो दलले प्रधानमन्त्रीलाई अझै पठाइनसकेको सचिवालयले जानकारी गरायो । सो विषयमा प्रधानमन्त्री ओली, केन्द्रका अध्यक्ष प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सहमति भएपछि टुंगो लाग्ने बताइएको छ ।   फोरम नेपालका एक नेताकाअनुसार अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा जाने तयारी फोरमले गरेको छ । मन्त्रालयको विषयमा अझै निर्णय भइनसके पनि अध्यक्ष यादव, नेताहरु राजेन्द्र श्रेष्ठ र रेणु यादव मन्त्री बन्ने करिब पक्का भएको छ । 
यसअघि एमालेबाट लालबाबु पण्डित, थममाया थापा, ईश्वर पोखरेल, डा. युवराज खतिवडा सरकारमा सहभागी भइसकेका छन् । एमालेमा मन्त्रीका आकांक्षी पनि धेरै भएकाले भागबण्डा मिलाउन समस्या भएको स्रोतले जानकारी दियो ।
एमालेमा योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, नारदमुनी रानाथारु, पद्मा अर्याल लगायतका नेताका बारेमा पनि छलफल भएको स्रोतले जानकारी दियो ।
राजपा सरकारमा नजाने
प्रधानमन्त्री ओलीले फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दुवै मधेसवादी दललाई सरकारमा सहभागी गराउने प्रयास गरेपनि राजपा तत्काल सकारमा नजाने भएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा जाने ठोस आधार तयार भइनसकेकाले तत्काल सरकारमा सहभागी नहुने बताए । तर सरकारलाई बाहिरबाटै समर्थन गर्ने उनको भनाई छ ।