राजनीति

सरकारलाई पूर्णता दिने तयारीमा अाेली

काठमाडाैं, १ चैत । राष्ट्रपति र सभामुख निर्वाचन सकिएलगत्तै सरकारलार्इ पूर्णता दिने तयारी थालिएकाे छ । प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने गृहकार्यमा जुटेका हुन। दुई दिनयता प्रधानमन्त्रीले सरकारको सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल बढाएका छन्  । 
प्रधानमन्त्रीले सरकारमा आउन तयार संघीय फोरम र सरकारलाई समर्थन गरेको राजपाका नेताहरूसँग पनि औपचारिक–अनौपचारिक छलफल जारी राखेका छन्।
प्रधानमन्त्री ओलीले बुधबार पनि माओवादी अध्यक्ष दाहालसँग बालुवाटारमा लामो संवाद गरेका थिए। दुवै नेताबीच मंगलबार पनि सरकार विस्तारमा केन्द्रित छलफल भएको राष्ट्रपति चुनावमा मतदान गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका ओली–दाहाल दुवैले स्वीकारेका थिए।
फागुन ३ मा प्रधानमन्त्री भएका ओलीको मन्त्रिमण्डल अहिलेसम्म सात सदस्यीय मात्र छ। प्रधानमन्त्री अाेलीले राजपा र संघीय फोरम दुवै दललाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गर्दै अाएका छन्। सरकारमा सहभागी हुने विषयमा राजपा र फाेरम पनि सकरात्मक देखिएका छन् ।